धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विएस्सी फिजिक्स विषयका विभागीय प्रमुखले नियतवस चार विद्यार्थीलाई प्रयोगात्मक परिक्षामा अनुर्तिण गराएको आरोप लगाउदै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रिएका छन् ।

क्याम्पसका विएस्सी फिजिक्स विभागीय प्रमुख सिपी साहले नियतवस चार विद्यार्थीलाई प्रयोगात्मक परिक्षामा अनुर्तिण गराएको आरोप लगाउदै आन्दोलनमा उत्रिएका क्याम्पसमा तालाबन्दी गर्नुका साथै विभागीय प्रमुख साहको राजिनामा माग्दै पुत्ला समेत जलाएका थिए । विद्यार्थीहरुले क्याम्पस परिषरमा चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘विद्यार्थीको भविष्य सुनिश्चित गर, पीडित विद्यार्थीको उद्धार गर, राजनीतिक नियुक्ति बन्द गरलगायतका नाराबाजी गरेका थिए । विभागीय प्रमुखको राजिनामालगायतको माग राख्दै विद्यार्थीहरु आन्दोलित बनेपछि क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थीबीच आइतबारै बार्ता बसेको थियो । उक्त बार्ताबाट एक हप्ताभित्र विएस्सी फिजिक्स विभागीय प्रमुख नयाँ नियुक्त गर्ने सहमती भएपछि विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

विभागीय प्रमुख साहले विएस्सी फिजिक्स विषयमा हाल तेस्रो वर्षमा अध्ययनरत हेमन्त भट्टराईको शुन्य, लोकस श्रेष्ठ, हिटलर राई र किरण निरौलालाई अंकभार दिएको विद्यार्थीहरुले बताएका छन् । दोस्रो प्रयोगात्मक परीक्षामा भट्टराईको शुन्य, श्रेष्ठ, राई र निरौलाको ११ देखि १३ कोबीचमा अंक भार दिएको विद्यार्थीहरुको भनाइ छ । ४० पूर्णाङकको प्रयोगात्मक परिक्षामा पास हुनको लागि २० अंक ल्याउनुपर्ने हुन्छ । प्रयोगात्मक परीक्षामा अंक दिने अधिकार विभागीय प्रमुखलाई भएकोले साहले नियोजित रुपमा चारै जना विद्यार्थी अनुतिर्ण गराएको विद्यार्थीहरुको आरोप छ । क्याम्पसका स्ववियु सभापति सौरभ सन्जेलले विभागीय प्रमुख साहले नियतबस विद्यार्थीहरुलाई अनुतिर्ण गराएको भन्दै विभागीय प्रमुख फेर्नुपर्ने माग गरे । ‘आफ्नो पर्सनल इस्यूलाई लिएर राम्रा विद्यार्थीहरुलाई प्राक्टिकल परीक्षामा जिरो माक्स दिएर फेल गराइएको छ ।’ सञ्जेलले भने ‘नियतबस फेल गराएर विद्यार्थीहरुलाई अन्याय गरेको छ, निरुत्साहित गराइएको छ, त्यसैले सिपी सरलाई एचओडीबाट हटाइनुपर्छ ।’

यता विभागीय प्रमुख साहले प्रयोगात्मक परीक्षामा विद्यार्थीहरु सहभागी नभएको र सहभागी भएकाले पनि उत्तरपुस्तिका खालि बुझाएकोले अनुर्तिण भएको दाबी गरे । ‘प्रयोगात्मक परीक्षामा कोही सामेल भएन सामेल भएकाले पनि खाली कपी बुझायो, अनी कसरी पास गराउनु लेख्दै नलेख्ने विद्यार्थीलाई पास गराउनु शिक्षकको नैतिकताले दिदैन ।’ विभागीय प्रमुख साहले भने । विद्यार्थीहरुले क्याम्पसमा राजनीतिबाट टाढा राख्नुपर्ने, फिजिक्सको विभागीय प्रमुख परिवर्तन गर्नुपर्ने, अनुत्तीर्ण भएका विद्यार्थीका पुनर्विचार गरिनुपर्ने लगायतका माग राखेका छन् ।

माग पूरा नभए बन्द, हड्तालका कार्यक्रमहरु गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । फिजिक्स तेस्रो वर्षमा २५ जना विद्यार्ती अध्ययनरत छन् ।