धरान:१६ औं पटक आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता एवं समर्थन जनाउदै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले आजदेखि ओपिडी सेवा बहिष्कार गरेका छन् ।

हिजो बिहिबारसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म धर्नामा बसेर त्यसपछि ओपिडीमा जाने गरेका जुनियर डाक्टरहरुले आजदेखि भने ओपिडी पनि बहिष्कार गरेका हुन् । जुनियर डाक्टरहरुले ओपिडी बहिष्कार गरेपनि सिनियर तथा फ्याकल्टी चिकित्सकहरुले भने ओपिडी सेवा दिइरहेका छन् । तर, जुनियर डाक्टरहरु विना ओपिडी सेवा प्रभावित हुने गर्छ । प्रतिष्ठानमा जुनियर डाक्टरहरुकै भरमा ओपिडी सेवा चलेको हुन्छ । ‘ओपिडी ठप्प भएको छैन, सिनियर फ्याकल्टीहरुले सेवा दिइरहेका छन्, तर जेआरहरु नहुदा धेरै असर गर्छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने ।

IMG_20190124_101530 copy

ओपिडी बहिष्कार गरेका जुनियर डाक्टरहरु आज पनि ८ बजेदेखि जिओपिडी भवन अघि धर्नामा छन् । उनीहरु दिउँसो १ बजेसम्म धर्नामा बस्नेछन् । सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलका अनुसार डा.केसीको माग पुरा नभएसम्म निरन्तर ओपिडी बहिष्कार भइरहनेछ । ‘हामीले आकस्मिक सेवालाई बहिष्कार गरेका छैनौ, ओपिडी मात्र बहिष्कार हो,’डा.पौडेलले भने,‘डा.केसीको मागको चाडो सुनुवाई भएन भने आगामी दिनमा थप सशक्त आन्दोलन पनि गछौ ।’

विगतमा भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग गर्दै डा.केसी १६ औंपटक अनसनमा छन् । सरकारले सम्झौता विपरीत विधेयक संसदमा ल्याएपछि डा.केसी अनसनमा छन् । उक्त विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि विरोध जनाइरहेको छ । संसदमा कांग्रेसले उक्त विधेयक प्रस्तुत हुन नदिई अवरोध जनाइरहेको छ ।

Untitledasw copy