धरान: प्रथम धरान स्नुकर च्याम्पियनसिप ‘धरान च्याम्प्स’मा खेलाडी दोर्जे पाख्रिन च्याम्पियन बनेका छन् ।
बिहिबार राती करिब १० बजे सम्पन्न भएको फाइनल खेलमा उनले प्रतिद्धन्दी बालकुमार लिम्बूलाई ६–४ सेटमा हराउदै च्याम्पियन बनेका हुन् । प्रतियोगिताको फाइनल बेष्ट अफ एलेभन भएको थियो । जसमा पाख्रिनले एक खेल बाँकी रहदा नै ६ खेल जितेर च्याम्पियन बने । उपविजेतामा सिमित भएका लिम्बूले मात्र ४ खेल जिते ।
विजेता पाख्रिनले च्याम्पियन ट्रफीसहित नगद ४० हजार हात पारे भने उपविजेता लिम्बूले नगद १५ हजारमा चित्त बुझाए । तेस्रो भएका गणेश गुरुङले नगद ५ हजार थापे । प्रतियोगितामा हाइयेष्ट ब्रेक गर्ने खेलाडी पनि बनेका उपविजेता लिम्बूले थप १० हजार नगद पुरस्कार पनि पाए । उनले फाइनलमा ५३ स्कोर ब्रेक गरेका थिए ।
प्रतियोगिता धरान १६ अन्नपुर्ण चोकस्थित जोजोलोपा स्नुकल क्लबमा आयोजना भएको थियो । क्लबले नै आयोजना गरेको प्रतियोगितामा कुल ६२ जना खेलाडीहरु सहभागी भएको प्रोपाइटर अशोक बज्रचार्यले जानकारी दिए । जोजोलोपा क्लब करिब ६ महिना अघि मात्र स्थापना भएको हो ।
युवा पुस्तामा स्नुकर क्रेज बढ्दो
धरानमा २ दशकअघि स्कुनर खेलको क्रेज थियो भने स्नुकर क्लब तथा हाउस पनि थुप्रै सञ्चालनमा थिए । त्यसबेला धरानका युवाहरु अधिकांश समय स्नुकर खेलेर बिताउने गर्थे । पुराना खेलाडी तथा छिमेकी समाज, धरान १२ का अध्यक्ष राजेन्द्र राईका अनुसार २ दकशअघि धरानमा २० वटाको हाराहारीमा स्नुकर हाउस थियो । ‘त्यसबेला एकदमै क्रेज थियो, हामी पनि घण्टौसम्म स्नुकर खेल्थ्यौ,’बिहिबार फाइनल खेल हेर्न पुगेका उनले भने,‘व्यवस्थापनको कमजोरीले ती सबै बन्द भए ।’
पछिल्लो दशक स्नुकर खेल धरानबाट करिब करिब लोप भइसके जस्तै भयो । तर, अहिले फेरी पुराना खेलाडीहरुकै पहलकदमीमा धरानमा स्नुकर खेलको क्रेज बढ्दै गएको छ । यो खेललाई भलाद्मीहरुको खेल पनि भनिन्छ । यसको कारण खेलाडीहरु टाइ, सुट, पेन्ट पहिरनमा हुनुपर्छ । दुई दशक अघि पनि स्नुकर खेलाडी रहेका बज्रचार्यले स्नुकर खेलको विकास तथा प्रर्वद्धन गर्न जोजोलोपा क्लब खोल्नुका साथै प्रतियोगिता पनि आयोजना गरेको बताए । ‘२० बर्षअघि धरानमा थुप्रै स्नुकर हाउसहरु थियो, खेलाडी पनि थियो । बीचमा कम भयो,’उनले भने,‘यो प्रतियोगिता निरन्तर आयोजना गछौ ।’