इटहरी:दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप शनिबारबाट इटहरी रंगशालामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मेची नेत्रालय केएफटीसी झापाले दाफिन्स फुटबल टीम क्यामरुनलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाले ४–३ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो । उद्घाटन खेलको म्यान अफ दि म्याच घोषित हुदै झापाका दीप कार्कीले नगद १० हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले गरेका थिए । मन्त्री सुनारले उद्घाटन समारोहमा बोल्दै खेलक्षेत्रले देशको शिर उच्च राखेको बताए । उनले प्रतियोगिता जित्न सजिलो भएपनि दर्शकको मन जित्न धेरै गाह्रो हुने धारणा राखेका थिए । ‘प्रतियोगिता जित्न सजिलो छ, तर दर्शकको मन जित्न निकै कठीन हुन्छ, दर्शकको मन जित्नु ठूलो कुरा हो । यो प्रतियोगिताले दर्शकको पनि मन जित्न सकोस्,’मन्त्री सुनारले भने ।

sunar

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरीमा विभिन्न राष्ट्रिय, अन्तराष्ट्रियस्तरका प्रतियोगिता भइरहेकोले इटहरी खेलक्षेत्रको राजधानी हुने दाबी गरे । प्रतियोगिता राष्ट्रिय जागृति क्लबको आयोजनामा भएको हो । संयोजक कोवितजंग कार्कीका अनुसार आइतबार मनाङ मस्र्याङ्दी क्लब र आयोजकबीच प्रतिष्पर्धा हुनेछ । गोल्डकपको उपाधि विजेताले नगद १६ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ८ लाखसहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा २ पाहुना टोली सहित ८ वटा टीमले सहभागिता जनाएको छ ।