धरान : कमेडियन मनोज गजुरेलले अभिनय गरेको फिल्म ‘सयकडा दश’को प्रचार गर्न फिल्म टोलि पूर्व आएको छ ।

भ्रष्टाचार विरुद्धको फिल्म भनेर प्रचार गरिएको सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेलसँगै धराने अभिनेता अमृत ढुंगाना पनि फिल्मको प्रबर्धनमा पूर्वमा छन् ।
सोमबार साँझ धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गरेर फिल्म टोलिले पूर्वमा दर्शक खोज्न नभई भ्रष्टाचार विरुद्धका अभियन्ता खोज्न आएको जनाएको छ । फिल्मका मुख्य कलाकार गजुरेलले पत्रकार सम्मेलनमा भने ‘भ्रष्टाचार भनेको ठूलो आर्थिक अनियमितता मात्र होईन, सामान्य मान्छेको आचारण पनि भ्रष्ट हुन्छ । अहिलेको पुस्तालाई सदाचार बनाउन सकिए दश बीस वर्षमा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने आशा छ ।’
माघ १८बाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि धरान, इटहरी हुँदै बिर्तामोडसम्म पत्रकार भेटभाट गर्ने कार्यक्रम रहेको निर्देशक पाठकले बताए । १ करोड ६० लाख भन्दा बढी खर्च भएको बताइएको कमेडी जनराको सयकडा दश थाईल्यान्डमा प्रिमियर गरिएको थियो ।