धरान: आगामी फागुन ७ गतेदेखि धरानमा ५ दिने तेस्रो प्रदेश १ स्तरीय पुष्प व्यापार मेला २०७५ आयोजना हुने भएको छ । घर आगन होस वा सडक किनारा, रोपी स्वदेशी फूल विरुवा बनाउ हराभरा भन्ने नाराका साथ पुष्प मेला फागुन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुन लागेको हो ।

आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपाल, सुनसरीले सोमबार पत्रकार सम्मेलन गरी पुष्प मेलाबारे जानकारी दिएको हो । पुष्प मेला विगतका बर्षमा झै यसपाली पनि धरान १२ स्थित अमान कृर्षि बजारमा हुने पुष्प मेला संयोजक प्रेमप्रसाद पराजुलीले जानकारी दिए ।  संयोजक पराजुलीका अनुसार यसपाली अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यवसायिक ३० गरि कुल ३२ वटा स्टल रहनेछ । ती स्टलहरुमा मौसमी, आलंकरिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट, फुलको गानो, बिउविजन, कृर्षि औजार, उपकरणलगायतको प्रर्दशनी तथा बिक्री कक्ष रहने पराजुलीले जानकारी दिए । ‘यो मेलाले पुष्प व्यवसायीलाई मात्र होइन, आफ्नो घर, आँगन तथा बगैचा सजाउन चाहनेहरुलाई, फूलप्रति रुचि राख्नेलाई पनि ज्ञान हासिल गर्न उपयोगी भएको पाएका छौ,’संयोजक पराजुलीले भने,‘यसपाली विद्यार्थीहरुलाई बिशेष अवलोकन गराउने योजना छ, वनस्पति र वातावरणप्रति विद्यार्थीहरुलाई रुचि जगाउने भएकोले विद्यालयहरुबाट विद्यार्थी ल्याउने पहल गर्नेछौ ।’

IMG_9705

पुष्प मेलाको ३५ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको छ भने ५० लाख बढीको कारोबार हुने अनुमान लिएको एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार गत बर्ष ४५ लाखको कारोबार हुने अनुमान गरिएकोमा ६० लाखबढीको कारोबार भएको थियो । यसपाली पुष्प व्यवसायी भइरहेको प्रदेश १ का जिल्लाहरु इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र पाँचथरबाट पनि व्यवसायीहरु सहभागी हुनेछन् । फूलका सौखिन रहेका उपभोक्ताहरु अरु समय फुलको प्रकारहरु खोजी गर्न विभिन्न सहरमा धाउनु पर्ने बाध्यतालाई यो पुष्प मेलाले राहत दिने आयोजकको दाबी छ ।
यसपाली पुष्प मेलामा फूलको, फलफुल गरी ४ सय प्रजातिको विरुवाहरु प्रर्दशनीमा हुने अध्यक्ष कसजुले बताए ।

फूल,फलफुलसँगै रुद्राक्ष, बोधिचित्त, एवोगार्डलगायतको पनि विरुवाहरु उपलब्ध हुनेछ । एशोसिएशनका जिल्ला अध्यक्ष खगेन्द्र पोखरेलले विगतको भन्दा यसपाली स्थानीयस्तरमा उत्पादन भएको फूलहरु पनि प्रर्दशनीमा राखिने बताए । घर,आँगनसँगै सहरलाई नै सिगार्न उपयोगी हुने पुष्प मेलाको लागि अपेक्षा गरेजस्तो सहयोग भने पाउन नसकेको उनको गुनासो छ ।