इटहरी: हाँस्यकलाकार मनोज गजुरेलले अभिनय गरेको पहिलो चलचित्र ‘सयकडा दश’ को प्रचार गर्न चलचित्र टोलि इटहरीमा आएको छ ।

भ्रष्टाचार विरुद्धको चलचित्र भनेर प्रचार गरिएको सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेल, अभिनेता अमृत ढुंगाना चलचित्रको प्रबर्धनमा इटहरी आएका हुन् । मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दश’ यहि माघ १८ गते देशव्यापी रिलिज हुने भएपछि गजुरेल प्रचार प्रसारको क्रममा आएका हुन ।

इटहरीमा मंगलबार पत्रकार सम्मेलन गरी हाँस्यकलाकार गजुरेलले भष्टाचारको बिरुद्ध पे्रम र सकरात्मक सन्देश दिनको लागि आफुले चलचित्रमा अभिनय गरेको प्रतिक्रिया दिए । समाजलाई सदाचारी बनाउन सय कडा दशले सहयोग गर्ने गजुरेलको विश्वास छ । गजुरेलले चलचित्र हेर्ने दर्शकहरुले मनोरञ्जन लिने मात्र नभई चलचित्र हेरेर भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न सक्ने बताए । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए ।

चलचित्रमा गजुरेलसँगै, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेले अभिनय गरेका छन् । चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए ।