इटहरी:अन्तर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितामा सिनियरतर्फ सहीद स्मृति आवासीय विद्यालयकी सिर्जना उराव प्रथम भएकी छन् ।

यसैगरी, सयपत्री शिशु सदन तरहराका पारस गिरी द्धितीय, हिमशिखर स्कुल तरहराका युवराज डाँगी तृतीय र हिमशिखरकै पुजा थापा सान्तवना भएका छन् । उनीहरुले क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार र २ हजारसहित ट्रफि हात पारे । इटहरी २० तरहरामा रहेको ऊँ डान्स सेन्टरले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ ब्राइट फ्युचर स्कुलकी स्मारिका ठकुरी प्रथम भइन् । निलकण्ठ स्कुल तरहराकी इच्छा विक द्धितीय, निलकण्ठकै रोहन राई तृतीय र किड्स ह्याप्पी होम मन्टेश्वरी तरहराका ओमन बस्नेत सान्त्वना भए । उनीहरुले क्रमशः नगद ८ हजार, ५ हजार, ३ हजार र १५ सय रुपैयाँसहित ट्रफि हात पारेका छन् ।

प्रतियोगितामा इटहरी १, २, १९ र २० नम्बर वडामा रहेका २० वटा विद्यालयको सहभागी भएको डान्स सेन्टरका सञ्चालक प्रेम चौधरीले बताए । उनका अनुसार ३ सय २० जना विद्यार्थीहरु पहिलो अडिसनमा सहभागी थिए । ती मध्ये सिनियर १० जना र जुनियर १० जना गरी उत्कृष्ट २० जनालाई ग्रान्ड फिनालेमा सहभागी गराइएको थियो । जुनिएरमा कक्षा २ देखि ५ सम्म र सिनियरमा ६ देखि १० कक्षाका विद्यार्थीहरु सहभागी थिए ।