काठमाण्डौँ  : आज शुक्रबारबाट फरक–फरक विषयवस्तुका तीन फिल्म प्रदर्शन हुदैछन् । गोविन्दसिंह भण्डारीको ‘रणवीर’, रामशरण पाठकको ‘सय कडा दश’ र दिपेन्द्र लामाको ‘गोपी’ प्रदर्शन हुदैँछन् ।

प्रेमकथामा आधारित एक्सन फिल्म ‘रणवीर’मा भ्रष्टाचार, बेथिती, ढिलासुस्ती, अपहरणलगायतका विषय उठान गरिएको फिल्ममा सुशिल सिटौँला, शुभेक्छा खडका, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोलाराज सापकोटा, शैलेश्वरी सिंहको अभिनय छ । गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेको फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध, राजनराज सिवाकोटी, हुर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन बस्यालको कोरीयोग्राफी छ ।

भ्रष्टाचारको कारण प्रेम, समाज र परिवारमा पर्ने असरलाई देखाइएको फिल्म ‘सय कडा दश’ मा स्टेन्ड अप कमेडियन मनोज गजुरेल भ्रष्टाचार विरोधी अभियन्ताको भुमिकामा छन् । रञ्जु प्रधान र मनोज निरौलाले निर्माण गरेको फिल्ममा मनोजसंगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय छ । फिल्ममा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दिलिप ओखेडाको कोरियोग्राफि, रञ्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायाँकन छ । फिल्मको हास्यकलाकार राजाराम पौडेल कार्यकारी निर्माता हुन् ।

त्यसैगरी दिपेन्द्रको फिल्म ‘गोपी’ ले एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उत्तारचढावलाई प्रस्तुत गरेको छ । फिल्ममा नायक विपीन कार्कीले शीर्ष भुमिकामा अभिनय गरेका छन् । आरोही केसी निर्माता तथा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा विपिनसंगै वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्ममा समिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायाँकन, गोविन्द राईको कोरीयोग्राफी छ ।