धरान : विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरी आयोजना हुन लागेको मिसेस स्टेट १ सिजन २ को पहिलो चरणको अडिसन शनिबार धरानमा सम्पन्न भएको छ ।
पहिलो चरणको अडिशनमा २४ जना गृहणी एवं विवाहित महिलाहरु सहभागी भएको आयोजक वुमन वर्थ गु्रपले जानकारी दिएको छ । फारम भरेर पनि कार्य व्यस्तताले अडिशनमा आउन नपाएकाहरुलाई माघ २३ गते दोस्रो चरणको अडिशन गरिने आयोजक संस्थाकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन् । ‘आज कतिले चाहेर पनि अडिशनमा आउन नसकेको हुनाले दोस्रो चरणमा समेट्छौ,’उनले भनिन् ।
कोरियन रेष्टुरेष्ट हाङकुक साराङमा शनिबार आयोजित दोस्रो अडिशनमा महिला सञ्जाल धरानकी अध्यक्ष सविता चाम्लिङ राई, पुर्व मिस कोशी कृति श्रेष्ठ, कोरियोग्राफर डिजे ललित राई र मिसेस स्टेट १ की विजेता सम्झना घतानी निर्णायक रहेका थिए । मिसेस स्टेट वान सिजन टुका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः नगद एक लाख, ५० हजार, २५ हजार रुपैयासँगै क्राउन, ट्रफी र विभिन्न उपहारहरु पाउनेछन् ।

यसैगरी, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डसिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल पनि दिइनेछ । विवाहित एवं गृहणी महिलाहरुको क्षमता पहिचान गर्ने तथा उनीहरुमा निहित प्रतिभा प्रष्फुटनको अवसर प्रदान गर्ने उद्देश्यले गत बर्षदेखि गु्रपले कार्यक्रम आयोजना गर्न थालेको हो । आयोजक संस्था धरानका गृहणी महिलाहरु मात्र मिलेर स्थापना गरेका हुन् । संस्थाले विभिन्न सामाजिक गतिविधिहरुमा पनि आफुहरुलाई सहभागी गराउदै आएको छ । मिसेस स्टेट २ को ग्रान्ड फिनाले महिला दिवसको अवसर पारेर फागुन २४ गते धरान सभागृहमा हुनेछ ।







































































