धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुमा लुकेर रहेको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले धरानमा प्रदेश १ स्तरीय ‘एसईई स्टेट १ आइडल’ आगामी चैत्र तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

फक्ताङलुङ मिडिया हाउस (एफटिएल)ले पहिलो पटक प्रदेश १ स्तरीय गायन प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताको पहिलो अडिसन ओखलढुङगाबाट सुरु गरिने आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै एफटिएलका अध्यक्ष डम्बर तुम्बाापोले जानकारी दिए । त्यसैगरी, अन्य जिल्लाहरुमा पनि अडिसनको लागि जाने उनले बताए । ‘पहिलो अडिसन जिल्ला, जिल्लाहरुमा हुन्छ, दोस्रो चरणको अडिसन धरानमा नै हुन्छ,'उनले भने । विद्यार्थीहरुको पढाइसँगै गायनमा पनि आफ्नो भविष्य बनाउनको लागि अवसरको रुपमा प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड र प्लस टुसम्मको छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० र २० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर हात पार्नेछ । त्यसैगरी, विभिन्न व्यक्तिगत विद्याका पुरस्कार समेत दिइने आयोजकले जनाएको छ ।