धरान: विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरेर आयोजना हुन लागेको मिसेस स्टेट १ सिजन टुको दोस्रो चरणको अडिशन पनि बुधबार सम्पन्न भएको छ ।

वुमन वर्थ गु्रपले आयोजना गरेको दोस्रो अडिशनमा बुधबार ५ जना विवाहित महिलाहरु सहभागी भएका थिए । पहिलो चरणको अडिशनमा सहभागी हुनबाट छुटेका महिलाहरुलाई बुधबार दोस्रो अडिशनमार्फत मौका दिइएको आयोजक संस्थाले जनाएको छ । दोस्रो चरणमा महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद तथा फोटो पत्रकार विकास चाम्लिङ राई र कोरियोग्राफर एवं डिजे ललित राईले अडिशन लिएका थिए । गु्रपकी अध्यक्ष सुजाता श्रेष्ठले फारम भरेर पनि विविध कारणले सहभागी हुनबाट छुटेका महिलाहरुलाई दोस्रो चरणको अडिशन लिइएको बताइन् ।

विवाहित तथा गृहणी महिलाहरुको प्रतिभा एवं व्यक्तित्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । मिसेस स्टेट १ सिजन टुका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः नगद एक लाख, ५० हजार, २५ हजारसँगै क्राउन, ट्रफी तथा विभिन्न उपहारहरु पाउनेछन् । त्यसैगरी, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डसिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल पुरस्कार पनि दिइएको छ । अडिशनबाट छनौट भएका महिलाहरुलाई उद्यमशिलता, फिटनेश, पर्यटन प्रर्वद्धन, प्राथमिक उपचार, भाषणकला तथा उद्घोषण तालिम, महिला अधिकार तथा लंैगिक समानतालगायत विविध बिषयमा विज्ञहरुमार्फत तालिम दिइने आयोजकले जनाएको छ । ग्रान्ड फिनाले आगामी फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।