धरान : धरान नगर स्तरीय लोक नृत्यकला महोत्सव धरानमा हुने भएको छ ।

धरान उपमहानगरपालिका अन्तर्गतको धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा धरानमा माघ २५ गते महोत्सव हुने बुधबार पत्रकार सम्मेलन गदै जानकारी दिइएको हो । लोक नृत्य महोत्सवमा दुई वटा समूहमा प्रतिस्पर्धा गराइने प्रतिष्ठानका सदस्य सचिब हर्कजित लिम्बूले बताए ।

उनका अनुसार विद्यालयहरुबीच छुटै प्रतिस्पर्धा गराइने छ भने डान्स सेन्टरहरुबीच पनि छुटै प्रतिस्पर्धा गराइने छ । ‘यसपटक हामीले दुई समूह बनाएका छौं, विद्यालयहरुबीच छुटै त्यसैगरी, डान्स सेन्टरहरुबीच पनि छुटै प्रतिस्पर्धा गराउदै छौं ।’ सदस्य सचिब लिम्बूले भने ‘विशुद्ध लोक गीतमा मात्र नृत्य गर्नुपर्ने छ ।’ हालसम्म १६ वटा समूह सम्पर्कमा आएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १५–१५ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी, दोस्रो र तेस्रो हुनेले नगद १०–१० हजार र ५–५ हजार रुपैयाँ प्राप्त गर्ने प्राज्ञि गोपाल देवानले बताए । धरानमा नृत्य कला क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता गराउन लागिएको आयोजकले जानकारी दिएको छ ।