धरान: नाटक मञ्चन गर्न सुविधा सम्पन्न थिएटर हल(नाटक घर)को अभाव खट्किए पनि धरानको रंगमञ्चलाई जगाउन आरम्भ नाट्य डबलीले नियमितरुपमा नाटक मञ्चन गर्ने भएको छ ।

गएको पुष २५ गते ३० औं स्थापना दिवसमा लघु नाटक यातनाको अन्त्य मञ्चन गरेको आरम्भले अब प्रत्येक महिना नाटक मञ्चन गर्ने घोषणा गरेको हो । धरानमा थिएटर हल नहुदा रंगकर्मीहरुले धेरै नै सास्ती भोग्नु परिरहेको छ । आरम्भले आफ्नो स्थापना दिवसमा निरन्तर नाटक मञ्चन गर्न भने छोडेको छैन । यसपाली पनि होटल रत्न इनमा लघु नाटक मञ्चन गरेर स्थापना दिवस मनाएको आरम्भले माघ दोस्रो साता पुनः २ सो मञ्चन गरेको थियो । ‘अब धरानमा नियमित मासिकरुपमा नै नाटक मञ्चन गछौ,’अध्यक्ष गोपाल देवानले भने,‘धरानमा थिएटर हल बन्न सकेन, तर हामी होटलमै भएपनि नियमित नाटक मञ्चन गर्ने निर्णयमा पुग्यौ ।’

pic-1

स्थापना दिवसमा मञ्चन गरेको लघुनाटक यातनाको अन्त्य माघ ११ गते शुल्कसहित २ शो मञ्चान गरिएको थियो । दुवै शो टिकट काटेर हेर्ने दर्शकहरुले हाउसफुल भएकोले पनि रंगकर्मीहरु उत्साहित छन् । रङ्गमञ्चीय हल नभएकै कारण धराने रङ्गमञ्चमा पुस्तान्तरण हुन नसकेको र रङ्गकर्मले निरन्तरता नपाएको अध्यक्ष देवनको भनाई छ । ‘थिएटर हल भइदिएको भए नियमितरुपमा नाटक मञ्चन हुन्थ्यो, र रंगकर्मले गतिशिलता पाउथ्यो । हामीले अहिले नाटक मञ्चन गर्न रंगमञ्चको स्वरुप तयार गर्नुमा नै धेरै खर्च गर्नुपरिरेको छ,’अध्यक्ष देवानले भने ।

धरान कला, साहित्य, गीत,संगीत र सँस्कृतिको धनी सहर मानिन्छ । नाटकको इतिहास केलाउदा वि.स.१९९७ सालदेखि धरानमा नाटक मञ्चन भएको इतिहास छ । कुनै समय यहाँ २ दर्जन बढी नाट्य संस्थाहरु क्रियासिल थिए भने नियमितरुपमा नाटक मञ्चन भइरहन्थ्यो । तर, सुविधा सम्पन्न रङ्गमञ्चीय हल वा नाटक घर तयार हुन नसक्दा धराने रङ्गमञ्च सुक्दै गएको रंगकर्मीहरु गुनासो पोख्छन् । अग्रणी नाट्य संस्था अनाम धरानले नाटक घर बनाउन शुरु गरेपनि विवाद र फुटले पुर्ण हुन सकेन । आरम्भ आफैले २ बर्षअघि धरान ४ खैरेनीमा सिलान्यास गरेको थियो । तर, आर्थिक अभावले नाटक घर बनाउन सकेको छैन । 

IMG_9319

आरम्भले गत महिना स्थापना दिवस मनाउने क्रममा तत्कालिन पञ्चायती तानाशाहले धनुषाको जदुकुवा भन्ने ठाउँमा गरेको जघन्य हत्याकाण्डको सत्यघटनामा आधारित लघुनाटक ‘यातनाको अन्त्य’ मञ्चन गर्यो । यस्तै, माघ ११ गते पुनः २ शो होलट रत्न इनमै मञ्चन गर्यो । अहिले फेरी अर्को नाटक मञ्चनको तयारीमा आरम्भ जुटिसकेको छ । ‘हरेक महिना फरक फरक नाटक मञ्चन गर्नेछौ, यातनाको अन्त्य राजनीतिक बिषयबस्तुमा थियो, अब कमेडी बेस नाटक मञ्चन हुन्छ,’आरम्भकी कोषाध्यक्ष विना डि तामाङले भनिन् ।