धरान: राष्ट्रिय खेलकुद परिषदले धरान १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली जग्गामा २३ करोड लागतमा नयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने भएको छ ।
आइतबार २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोहमा परिषदका सदस्य सचिव केशवकुमार विष्टले उक्त कभर्ड हलको डिजाइनसमेत तयार भइसकेको जानकारी दिए । अर्काे आर्थिक बर्षमा टेण्डर भएर निर्माण कार्य शुरु हुने सदस्य सचिव विष्टको भनाई थियो । ‘नयाँ बहुउद्देश्यीय कभर्ड हल यहाँ बन्छ, अण्डरग्राउण्डा पार्किङ हुन्छ, र २ तला कभर्ड हल हुन्छ,’सदस्य सचिव विष्टले भने,‘२ वटा ट्रेनिङ सेन्टर पनि बन्छ ।’
लामो समयदेखि निर्माणाधिन रंगशाला पुर्ण नभएकोप्रति पनि उनले मास्टर प्लानअनुसार आकार ग्रहण गर्न केही बर्ष लाग्ने पनि बताए । रंगशाला पुर्ण भएपछि १५ हजार दर्शक क्षमता रहने उनको भनाई थियो । ‘आकार ग्रहण गर्न २, ३ बर्ष लाग्छ तर, तपाईहरुको सुविधा सम्पन्न रंगशालाको सपना पुरा हुन्छ,’उनले भने,‘आउने बजेट ठुलो आउछ, बहुउद्देश्यीय कभर्ड हल बनाउनुछ, भिआइपी प्याराफिट, पुर्वपटिको प्याराफिट पनि पुरा गर्नुछ ।’
सदस्य सचिव विष्टले नेपाललाई खेलाडीहरुले नै संसारमा चिनाएको भन्दै अबको बर्षहरुमा सबैभन्दा धेरै सम्मान र कमाई पनि खेलाडीहरुकै हुने बताए । त्यसैले आफ्नो छोराछोरी खेलाडी हुँदा अभिभावकहरुले चिन्ता लिन नपर्ने उनले बताए । धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले सदस्य सचिवलाई अपुरो रहेको धरानको रंगशाला पुर्ण र अन्तरराष्ट्रियस्तरको बनाउन आग्रह गरेका थिए । कार्यक्रममा सदस्य सचिव विष्टलाई सम्मान पनि गरिएको थियो ।