धरान: धरान १२ स्थित अमान बजार बेहुली झै सिगारिएको छ, फुलहरुले पनि ढकमक्क सजिएको छ । कपडा बारेर निकालिएको अस्थायी कोठा (स्टल)मा रंगीविरंगी फुल तथा फुलको विरुवालाई हार बनाएर सजाइएका छन् ।

मंगलबारदेखि शुरु हुने प्रदेश १ स्तरीय पुष्प व्यापरा मेलाको सोमबार तयारी हुदै गर्दा नै सर्वसाधारणहरु अवलोकन गर्न थालिसको थिए । कोही फुलको मोलमोलाई पनि गरिरहेका भेटिन्थे । कोही फोटो खिच्न त, कोही सेल्फी हान्नमा व्यस्त देखिन्थे । एक महिलाले सोध्दै थिइन् ‘आज पनि फुल किन्न पाइन्छ ?’ छेवैमा रहेको व्यवसायीले जवाफ फर्काए ‘पाइन्छ, कुन लानु हुन्छ छान्नुस न ’

फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरी शाखाको आयोजनमा मंगलबारदेखि पुष्प व्यापार तथा प्रदर्शनी मेला शुरु हुदैछ । तर, मेलाप्रति सर्वसाधारणहरुको चासो शुरु नहुदै भइसकेको छ । मेलास्थल अमान बजर पुगेर कतिले सेल्फी फेसबुकमा पोष्ट गर्न सोमबारै भ्याइसकेका छन् । कतिले मंगलबारदेखि हुने मेलामा आउन आह्वान पनि गरेका छन् । सोमबार व्यावसायीहरुले स्टलमा फुल सजाउने की अवलोकनमा आउने उपभोक्तलाई फुल देखाउने भनेर अन्योल पनि देखिन्थे । सर्वसाधारणहरुको चासोले व्यावसायीहरु निक्कै उत्साहित छन् । मेला संयोजक प्रेमप्रसाद पराजुली खुशी व्यक्त गदै भन्छन्, ‘यही त अचम्म छ नी धरानमा, फुल भनेपछि धरानेहरु हुरुक्कै हुन्छन् ।’

IMG_20190218_141732

संयोजक पराजुलीका अनुसार सोमबारै करिब ६० देखि ७० जना उपभोक्ताहरु मेलास्थलमा फुल हेर्न, किन्न आएका थिए । ‘नयाँ–नयाँ के छ, भोली सकिहाल्छ की भन्ने लागेर पनि उहाँहरु आइहाल्नु भएको होला,’उनले भने । व्यावसायीहरु स्टल सजाउन व्यास्त भएको बेला पनि आउने ग्राहकको लागि फुल विक्री गरेको उनको भनाइ थियो । यसरी आम उपभोक्ताहरुले चासो देखाइदिदा आफुहरुलाई थप उत्साहित गराएको उनले बताए ।

त्यसो त अमान बजार पुग्ने जो कोहीले पनि पुष्प मेलाको तयारी अवस्थाको फोटो पोष्ट गदै मेला बारे जानकारी गराइरहेका छन् । महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राईले मेलाको तयारी हुदै गरेको तस्बिरे राख्दै ‘भोलीदेखि हुने पुष्प व्यापार मेलामा धरान अमान बजारले तपाइहरुलाई स्वागत गर्न तयारी अवस्थामा रहेको छ’ स्टाटस लखेकी छन् । उनले मेलाले सबैको घर सजाउने प्रयास गरेकोप्रति आयोजकलाई कृतज्ञता पनि व्यक्त गरेकी छिन् । पत्रकार भरतराज शर्मा (गोपाल)ले पनि पुष्प मेलाको तयारीको तस्बिर राखेका छन् । सामाजिक सञ्जालले पनि पुष्प मेलाबारे आम सर्वसाधारणहरुलाई जानकारी गराइरहेको छ ।

IMG_20190218_141807

धरान फुलप्रेमीहरुको शहरको रुपमा पनि परिचित छ । धरान उपमहानगरपालिकाले धरानलाई फुलको शहर बनाउने घोषणा नै गरिसकेको छ । फुलप्रति चासो देखाउने मानिसहरुको बसोबासको कारणले गर्दा पनि यसअघिको पुष्प व्यापार मेला उत्साहजनकरुपमा आयोजना भएको थियो । गत बर्ष ४५ लाखको कारोबार हुने लक्ष्य राखेको आयोजकले ६० लाख भन्दा बढीको कारोबार गर्न सफल भएको थियो । यसपटक ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको छ । ‘पोहोर साल राम्रो कारोबार भएपछि यसपटक ५० लाखको कारोबार गर्ने लक्ष्य लिएका छौं, ७०–७५ लाखसम्मको कारोबार हुनुपर्ने हो,’ मेला संयोजक पराजुली भन्छन् । मेलामा सहभागी हुन व्यावसायीहरु आउने क्रम जारी रहेको उनले बताए ।

मेलाको उद्घाटन उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियले गर्ने कार्यक्रम रहेको छ । मेलामा जम्मा ३२ वटा व्यावसायिक स्टलहरु राखिएको छ । मेलामा ४ सय प्रजातीको बढीको बोटविरुवा, फुल फुल्नेदेखि लिएर मौसमी फुलहरु, आलाङकारीक बोट विरुवा, रुख, फलफुलको विरुवा राखिने बताइएको छ । २०७३ सालदेखि धरानमा पुष्प व्यापार मेला लाग्न शुरु भएको हो । पुष्प व्यावसायीहरुको लगानी सुरक्षित तथा व्यावसाय प्रर्बदन गर्ने उद्देश्यले पुष्प व्यापार मेला लगाउन शुरु गरिएको आयोजकले जनाएको छ ।