धरान :  मौलिक लोक नृत्यहरुको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले ‘मौलिक लोक नृत्य प्रतियोगिता’ आउदो फागुन १७ गते धरानमा हुने भएको छ ।


अन्तर्राष्ट्रिय हरियाली मञ्च साँस्कृतिक समूह सुनसरीको आयोजना तथा अन्तर्राष्ट्रिय हरियाली मञ्च सुनसरीको संयोजनमा धरान–१० स्थित शैनिक भवनमा लोक नृत्य प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा हरियाली मञ्चमा आबद्ध ताप्लेजुङ, पाँचथर, झापा र सुनसरीका साँस्कृतिक समूहले भाग लिने शनिबार धरानमा गरिएको पत्रकार सम्मेलनमा समूहकी सचिब गोमा कुलुङले बताइन् । भाग लिने समूहले लोक नृत्य प्रस्तुत गर्नुपर्ने छ भने चलचित्रको गीतलाई मान्यता नदिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता समूहले नगद ४० हजार, दोस्रो र तेस्रो बन्ने समूहले क्रमसः नगद ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, प्रतियोगिताको चौथो बन्नेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा भाग लिने समूहलाई प्रबेश शुल्कबापत ५ सय रुपैयाँ लिइने बताइयो । प्रतियोगिता आयोजना गर्नको लागि देश, विदेशमा रहेका मञ्चमा आबद्ध कलाकारहरुले सहयोग गरिरहेको समूहकी अध्यक्ष कुमारी नाछिरिङ राईले बताइन् । नेपाली कला, संस्कृतिहरुको जगेर्ना गर्ने अभिप्रायले पहिलो पटक लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको उनको भनाई थियो । ‘अब हाम्रो मौलिक लोक नृत्यहरु हराउदै जादैछ, त्यसको ठाउँमा पच्चिमा देशको संस्कृति भित्रिरहेको छ, त्यसैले हाम्रो मौलिक संस्कृतिलाई बचाउनको लागि हामीले सानो प्रयास थालेका छौं’–समूहकी अध्यक्ष राईले भनिन् । प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक सरस्वती योगी र माया सुनवार राई रहेका छन् । वातावरण क्षेत्र साथै, कला, साँस्कृतिक, खेलकुद र विविध सामाजिक सेवा गर्ने उद्देश्य अनुसार आप्रबासी नेपालीहरुद्वारा २०७२ सालमा अन्तरािष्ट्रय हरियाली मञ्चको स्थापना गरिएको हो । हाल, अमेरीका, अष्ट्रेलिया, हङकङ र सिंगापूरमा समेत मञ्चको स्थापना गरिएको संस्थाका नेपालका लागि राजदुत विशाल राईले बताए ।


त्यसैगरी, यस प्रतियोगिताको आयोजनाबाट संकलित रकमले वैदेशिक रोजगारीको शिलशिलामा घरेलु हिंसाबाट ढाडको मेरुदण्ड र खुटामा स्टिल राखि पिडादायिक जिवन विताइरहेकी भोजपुरकी शान्ता राईलाई सहयोग गर्ने समूहकी अध्यक्ष राईले बताइन् । ‘उनलाई हामी क्यास रकम हैन, उहाँको चाहाना अनुसार सिलाइ कटाइका मेसिन उपलब्ध गराउने सोच राखेका छौं’ उनले भनिन् ‘उनलाई दिर्घकालिन रुपमा आफुलाई केही आयआर्जन गर्न सहज होस्’ । हाल उनी धरान–११ आफन्तको घरमा छोरीको साथमा बस्दै आएकी छन् ।