झापा : झापाको घैलाडुब्बामा निर्माण गरिएको ३३÷११ क्ेभी विधुत् सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल सरकार, नेपाल विधुत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको सो सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । यसले सुरुंगा, घैलाडुब्बा, कुमारथोक, राजगढलगायतका स्थानमा विधुत आपूर्ती सहज बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लाइन ट्रिप हुने र कम भोल्टेजले बत्ती, पंखा, मोटरलगायतका विधुतीय उपकरण नचल्नेलगायत समस्या समाधान हुने उनको भनाई छ । ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विधुत् आपूर्तिको विश्वसनियता बढ्छ’ घिसिङले भने ।
प्राधिकरणले अब अनारमनी सबस्टेस्नबाट ३३ केभी वितरण लाईनमार्फत घैलाडुब्बा सबस्टेसनमा विधुत् ल्याउनेछ । घैलाडुब्बा सबस्टेसनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुंगातर्फका क्षेत्रमा विधुत आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले बताए । हालसम्म अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सुरुंगातर्फका क्षेत्रमा विधुत् आपूर्ति हुदैँ आएको थियो ।
–नयाँ पत्रिकाबाट







































































