धरान: पत्रकार भिषण राईद्वारा निर्देशित नेपाली चलचित्र ‘पुरानो बुलेट’ आगामी चैत १ बाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।

नायक, नायिकासहितको टिम चलचित्र प्रमोशन गर्न देश दौडाहाको क्रममा बुधबार आएका थिए । होटल सन्ध्या इनमा पत्रकार भेटघाट गर्दै चलचित्रका निर्देशक भिषण राईले चैत १ गतेबाट पुरानो बुलेट देशभर सय भन्दाबढी हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए । यसअघि, पुरानो बुलेटको च्यारीटी शो हङकङ र मोरङको पथरीमा भइसकेको पनि निर्देशक राईले जानकारी दिए । मोरङको पथरीमा फागुन २१ गते मंगलबार सोही चलचित्रले ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ चलचित्रको च्यारीटी शो गरेको निर्देशक राईले बताए ।

चलचित्र पारिवारीक शैलीमा बनेको छ भने स्वदेश(नेपाल)मै केही गर्न सकिन्छ भन्ने सन्देश दिने निर्देशक राईले बताए । अधिकांश चलचित्रको छायाँकन भने पूर्वको लेटाङ, भेडेटार लगायत ठाउँहरुमा गरिएको छ । चलचित्रमा अनुप बिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुको मुख्य अभिनय रहेको छ । एक करोडभन्दाबढी लगानी भएको उक्त चलचित्र क्रेजी ईन्टरटेन्टमेन्टको ब्यानरमा बनाईएको हो । चलचित्र २ घण्टा १ मिनेटको रहेको छ ।

चलचित्रमा अशोक कुमार राई, दीपेन्द्र लिम्बू, वीरेन साम्बा र टिकाराम राईको लगानी रहेको छ भने सन्तोष राई कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा निर्देशक राई र कार्यकारी निर्माता सन्तोष राईको कथा, पटकथा, हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे वाइबाकोे संगीत रहेको छ भने गीतहरुमा राजेश पायल राई, मेलीना राई र जयन जे वाईवाको स्वर रहेको छ । त्यसैगरी चलचित्रमा कोरीयोग्राफी भने प्रशान्त तामाङ रहेको छ ।