विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै प्रधानमन्त्री ओलीले सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध गरिने पनि बताए । कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकोले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ ।”
प्रधानमन्त्री ओलीले विप्लव समुहलाई निेषध गर्दा लोकतान्त्रिक पार्टीमा रुवाबासी गर्नु उचित नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ब्यंग्य पनि गरे । देउवाले शुरुमा विप्लवलाई निषेध गर्ने सरकारको निर्णयको समर्थन गरेका थिए । तर भोलीपल्टै ठिक नभएको भन्दै विरोध जनाएका थिए । “विप्लव समूहलाई निषेध गर्दा नेपालका लोकतान्त्रिक पार्टीका नेताको रुवावासी किन भन्दै इतिहासमा जवाफ दिने कुरा गर्नुहुदैन,”प्रधानमन्त्री ओलीले भने ।
विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको बताए । प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताको रुवावासी र छाती पिट्नुको उद्देश्य बुझ्न जनतासँग आग्रह पनि गरे । अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताए । उनले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पारे ।