विर्तामोड : झापाको विर्तामोड नगरपालिका पशुपन्छि विकास शाखाको आयोजनामा फागुन २८ गते देखि चैत्र ३ गते सम्म नगरका सवै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७५–०७६ को स्विकृत क्लीनिकल उपचार सेवा शीर्षकबाट रु ५ लाख ५० हजार खर्चमा सञ्चालित शिविरबाट १ हजार ५८ घरपरिवारका कृषकले सेवा लिएको विर्तामोड नगरपालिकामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले जानकारी दिए । नगरका विभिन्न स्थानमा निरन्तर ६ दिनसम्म सञ्चालिन शिविरमा वयस्क तथा उत्पादनशिल गाई र भैँसी १७ सय ९० वटा, बाछा बाछी तथा पाडापाडी ८ सय ३१, बाख्रा २ हजार १ सय ५, बंगुर १ हजार १ सय ५७, कुखुरा २ हजार ५ सय ८७ गरी जम्मा ८ हजार ८ सय ७० वटा पशुका लागि औषधी वितरण गरिएको छ । त्यसै गरी उपचार तर्फ वाँझोपन निवारण २ सय ३५, बोका खसी ५०, गर्भ परिक्षण ५०, अन्य ५ सय १८ गरि जम्म ५ सय ४८ वटा पशुपन्छिहरुको उपचार गरीएको पशुपन्छि विकास शाखा प्रमुख सानुमायाँ श्रेष्ठले जानकारी दिइन् ।
विर्तामोड नगरपालिकाले वर्षै पिच्छे सञ्चालन गर्ने गरेको पशु स्वास्थ्य बिविरमा स्वास्थ्य परिक्षण, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, आन्तरिक तथा बाह्य परजिवी विरुद्धको औषधी निशुल्क वितरण, गर्भ परिक्षण, पशुपालन तथा पशु विमा सम्वन्धि परामर्श सेवा, बाँझोपन निवारण लगायतका सेवाहरु गाउँ गाउँमै पुर्याए सँगै कृषकहरुमा उत्साह थपिएको छ । फागुन २८ गते वडा नं. १ र २, २९ गते वडा नं. ३ ,४ र ६, ३० गते वडा नं. ७, चैत्र १ गते वडा नं. ८, २ गते वडा नं. १०, र ३ गते वडा नं. ९ मा पुगेर समापन भएको शिविरमा सहभागि अधिकांस नागरिकहरुले शिविर १ दिनका लागि एक ठाउँमा मात्र सिमित भएको गुनासो गर्दै आगामी दिनमा यसलाई हरेक वडाका टोलटोलमा पुर्याउनु पर्ने माग राखेका छन् ।
विर्तामोड नगरपालिकाका हरेक वडामा सञ्चालन भएको पशु स्वास्थ्य शिविर सफल बनाउन केहि केहि वडाका जन प्रतिनिधीहरुले मात्र ब्यवस्थापनमा सहयोग गरेका छन् भने अधिकांश वडा अध्यक्षहरु शिविर सञ्चालन भएको स्थानमा पुगेनन् । वडा नं. ६ का वडा अध्यक्ष सुर्य कन्दङ्वाले भने शिविर सञ्चालनका लागि फरक धारणा राखेका छन् । शिविर व्यवस्थापनमा राम्रो भुमिका निर्वाह गरेका कन्दङ्वाले आगामि आर्थिक वर्षमा नगर वाट मात्र हैन वडाबाट पनि शिविर सञ्चालनका लागि वजेट निर्धारण गरेर वडाका विभिन्न स्थानमा सञ्चालन गर्ने वताएका छन । शिविर सञ्चालन अवधिमा सञ्चालन भएको स्थानमा सञ्चारकर्मी पुग्दा कर्मचारीहरु मात्र सेवा प्रवाहमा ब्यस्त देखिन्थे भने जनप्रतिनिधीहरुको उपस्थिती भने देखिएन । आफ्नो वडामा शिविर सञ्चालन हुदा ब्यवस्थापनमा चासो नदेखाएका वडाहरुले पिउने पानिको समेत ब्यवस्थापन नगरेको पाइएको छ ।


































































