धरान: दोस्रो विश्व युद्ध लडेका योद्धा एवं मिलिटरी क्रस विजेता हनेरी गोर्खा मेजर इन्द्रजीत वनेम (लिम्बू)को ९४ बर्षको उमेरमा निधन भएको छ ।

उनको धरान ११ स्थित आफ्नै निवासमा हिजो निधन भएको हो । स्वर्गीय वनेमको शुक्रबार मात्र अन्तिम दाह सँस्कर गरिने बताइएको छ । जेठ छोरा अष्ट्रेलियामा छन् भने कान्छा छोरा बेलायतमा रहेका छन् । उनको २ छोरी पनि छन् । वनेम लाहुरे समुदायमा मात्र नभै धरानको सामाजिक क्षेत्रमा पनि परिचित थिए । उनले सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धको समयमा वर्माको युद्ध लडेको पुर्वगोर्खा लाहुरे एवं सामाजिक अभियन्ता रमेश राईले बताए ।

यस्तै, सन् १९६३ ताका मलायाको युद्धमा बहादुरी देखाए वापत बेलायती महारानीबाट मिलिटरी क्रस पाएका थिए । मलायाको सरोवाकमा भएको युद्धमा उनले देखाएको वहादुरीबाट मिलिटरी क्रस पाएको सामाजिक अभियन्ता एवं पुर्वगोर्खा लाहुरे गजेन्द्र इस्पोले बताए । उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ, गोर्खालीहरुको एउटा ज्यूउँदो इतिहासको अवसन भयो, इस्पोले भने ।