काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको बताए । “जनताले बहुमत दिएर पठाएको सरकार छ । यसले विकासमा स्पष्ट नीति लिन्छ । तिनै नीतिहरुको आधारमा योजना बनाइन्छ र कार्यान्वयन गरिन्छ ” प्रधानमन्त्री ओलीले भने “सरकार विकासको महाअभियानमा सरिक भएकोले पक्ष विपक्ष हैन सबैले सहकार्य गरेर देश निर्माणमा जुटौं ।”
ओलीले नेपालको विकासको प्रयासलाई साथ सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक भएको बताए । हालै सम्पन्न लगानी सम्मेलनमा छिमेकी देशका लगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको संकेत गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा विकासका प्रयासलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक छ । लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ ” प्रधानमन्त्री ओलीले भने । “हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल,सुखी नेपाली हो । यस गन्तव्यमा पुग्न हामीले महत्वकांक्षी ढंगले काम गर्नै पर्दछ । भौतिक विकास,शिक्षा,स्वास्थ्य सबै क्षेत्रमा महत्वकांक्षी योजना कार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने ।
नयाँ कुराको अभिव्यक्तिले पनि मानिसको सोचाइमा परिर्वतन आउने प्रधानमन्त्री ओलीको भनाइ छ । कोशी नदीमा स्टिमर चल्नु त्यसकै एउटा उदाहरण भएको उनले बताए । कृषिमा यान्त्रिकिकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “कृषिमा यान्त्रिकिकरण गर्दा कसैको रोजगारी खोसिदैन । बरु यसले रोजगारीका नयाँ अवसर सृजना गर्दछ । त्यसैले आधुनिकताले रोजगारी खोसिने नभइ रोजगारीको रुपान्तरणचाँही हुने हो ।”
सन्तुलित विकासका लागि तिनै तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “ विकासका लागि दलहरु बीच समझदारी र एकता आवश्यक छ । फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध गर्नु उचित हुदैन ” प्रधानमन्त्री ओलीले भने ।
राष्ट्रिय विकास परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले १५ औं योजनाले पाँचबर्षको विकासको योजना मात्र प्रस्तत गरेको नभइ यस शताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुप तयार गरेको स्पष्ट पारेका छन् । राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८०/८१ ) को प्रस्तावित आधार पत्रलाई पारित गर्न यो बैठक आयोजना गरिएको हो ।








































































