विराटनगर:नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । विशेष महाधिबेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, उनीहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौ ।’ तर पार्टीले भने विशेष महाधिबेशन नबोलाउने दाबी गरेका छन् । पार्टी एक जुट गराएर अगाडी बढ्ने क्रममा रहेकोले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने देउवाले बताए ।

स्व. गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्दै सभापति देउवाले तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए । उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए । देउवाले संबैधानिक क्षेत्रको ब्यक्ति नियुक्तिको बारेमा सरकारले कांग्रेससँग सहकार्य नै नगरेको आरोप लगाए । सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका बिरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताए । रासस