युवापुस्ताका दर्शकले सर्वाधिक रुचाएका अभिनेता अनमोल केसीले डेब्यू फिल्म 'होस्टेल' देखि चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको सातौं फिल्म 'ए मेरो हजुर ३' सम्म आइपुग्दा न दोहोर्‍याएर कुनै अभिनेत्रीसँग काम गरेका छन् न त कुनै फिल्ममा काम गरिसकेका अभिनेत्रीसँग जोडी नै बाँधेका छन् । उनका हरेक फिल्ममा हिरोइन नयाँ हुने गरेका छन् । यो शिलशिला सातौं फिल्मसम्म पनि निरन्तर रह्यो । 

'ए मेरो हजुर ३' मा नयाँ हिरोइन मात्र होइन अनमोलले पहिलो पटक 'फिल्मी ब्लड' सँग काम गरेका छन् । हुनत, उनी आफैं पनि 'फिल्मी ब्लड' हुन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् । फिल्मको गीतसंगीत र ट्रेलरमा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । दुईको जुगलबन्दीले बक्सअफिसमा धूम मच्चाउने फिल्म पण्डितहरुको अनुमान छ ।
फिल्ममा अनमोलको फ्यानको भूमिका सुहानाले निभाएकी छिन् । तर, उनी रियल लाइफमा भने कसैको जबरजस्त फ्यान होइनन् । उनले भनिन्, 'फिल्ममा यो रोल गर्न भने मैले आफूलाई अनमोलको ठूलो फ्यान बनाएँ । साँझ/बिहान अनमोलकै फोटो हेर्थेँ । उसको कुनै फिल्म हेर्न छुटाइनँ । फेसबुक/इन्स्टाका सबै फोटो लाइक गर्थेँ । पात्रलाई न्याय गर्न म अनमोलको ठूलो फ्यान बन्ने कोशिश गरेँ ।'

उनी अनमोलले आफूलाई सेटमा धेरै कुरामा सहयोग गरेको पनि बताउँछिन् । 'उसलाई मैले को-एक्टरको रुपमा पाउँदा आफूलाई भाग्यमानी मान्छु । अनमोलले मलाई उत्कृष्ट सल्लाह दिन्थ्यो । ऊ धेरै सहयोगी छ', उनले भनिन् । अनमोल पनि सुहानाकोे तारिफ गरेर थाक्दैनन् । उनी सुहानालाई 'डेडिकेटेट एक्ट्रेस' भन्न रुचाउँछन् । उनले अभिनयमा गरेको मिहिनेतबाट पनि आफू प्रभावित भएको अनमोलको भनाई छ ।

तपाईंलाई सुहानाको मनपर्ने पाँच कुरा के हुन् ? पत्रकारको प्रश्नमा उनले भने, 'उसको मलाई मनपर्ने धेरै कुराहरु छन् । पहिलो, मजस्तै ऊ पनि कृष्ण भक्त हो । दोस्रो, मजस्तै ऊ पनि शाकाहारी हो । तेस्रो, उसको फिल्मप्रतिको 'डेडिकेसन' हो । चौथो, ऊ एकदम 'कन्फिडेन्ट' छ । पहिलादेखि नै फिल्म इन्डस्ट्रीमा भिजेर होला उसमा डर भन्ने छैन । पाँचौ चाहिँ उसले सबैलाई आदर र सम्मान गर्छ । उसमा अहमता भन्ने छैन ।'  सुहानाले सुधार गर्नुपर्ने चाहिँ उनले खासै देखेका छैनन् । 'एउटा कलाकार भएपछि अभिनयमा ग्रोथ गर्दै जानुपर्छ । सुहानाको अभिनय राम्रो छ झन् राम्रो गर्न मिहिनेत गर्नुपर्छ । फिल्म इन्डस्ट्रीमा झिँज्दै गएपछि मिडियासँग कसरी प्रस्तुत हुने पनि सिक्नुपर्छ', उनले सुझाए । उनी नेपाली फिल्ममा सुहानाको भविष्य राम्रो देख्ने बताउँछन् । अनमोल भन्छन्, 'ऊ झरना दिदीजस्तै लामो रेसको घोडा बन्नेछिन् ।'

http://www.filmykhabar.com बाट