धरान: गत चैत्र १७ गते बेलुका आएको हावाहुरीको कारणले बारा र पर्सा जिल्लाका प्रभावित परिवारलाई सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाइ धरानले राहत संकलन गरी वितरण गरेको छ ।
वीपी प्रतिष्ठानका फ्याक्ल्टी, कर्मचारी, विद्यार्थी र संस्थाका सदस्यहरुबाट राहत रकम संकलन गरिएको थियो । साथै, राहत सामाग्रीहरु र औषधीहरु वीपीकेआइएचएस एलुमिनाइ एसोसिएसनले सहयोग गरेको थियो । करिब ९० हजार बराबरको राहत रकम संकलन आवश्यक सामाग्रीहरु खरीद गरेर पीडित र गाउँपालिकालार्इ जिम्मा लगाइएको थियो।

संस्थाले दिएको जानकारी अनुसार राहत सामाग्रीमा १५० थान बाल्टिन, मग, चप्पल, टर्च लाइट, दन्तमन्जन, ब्रश, झुल, बिस्कुट, चाउचाउ, नुन र औषधि समाबेश गरिएको थियो । पिएसआरएनको ७ जनाको टोली र प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहसहितको टोलिले राहत सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष लोकेन्द्र अवस्थीले जानकारी दिए ।
अध्यक्ष अवस्थीका अनुसार हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाको वडा न ६ र १ मा अवस्था सामान्य भैनसके पनि आपतकालिन अवस्था भने छैन । त्यहाँ गाँस, बाँस र कपासको आवश्यकता भएको उनले खुलाए । पक्की घरबाहेक प्रायः सबै घरहरु ध्वस्त छन् । घाइतेहरुको उपचार भइ सामान्य अवस्था छ । तर शनिबार बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेकोले बारा, पर्साका हावाहुरी पीडितहरुको झन् विचल्ली हुने सम्भावना देखिएको उनले बताए ।