धरान: पूर्वेली ढाकाको चोली, गुन्यु, ढाकाकै झोला, टाउको पछेउरा (फेटा) ओढेकी एक महिलाले जव भोजपुर जानेबाटो कता हो ? भन्दै स्टेजमा उक्लिइन् । धरानको सभागृहको हलमा माहोल एका एक फेरियो ।

सबैले ताली बजाएर स्वागत गरेका महिला अरु कोही नभएर हाँस्य विद्याकी उदियमान कलाकार फुलन्देकी आमा (उमेश राई) थिए । गाउँघरको बुढीपाकी महिलाले बोल्ने लवजमा विभिन्न विषयमा हसाउन खप्पिस फुलन्देकी आमा सामाजिक सञ्जाल र यूट्युब च्यानलमा रुचाइएकी कलाकार हुन् । उनै फुलन्देकी आमालाई हाम्रो सुर सरगम समुहले सभागृहको स्टेजमा उतारेको थियो । समूहको आयोजनामा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण कार्यक्रममा उनले धराने दर्शक स्रोतालाई पेट मिचिमिचि हास्न बाध्य बनाए ।

करिब आधि घण्टा स्टेज प्रहसन गरेकी उनले हसाएर सबैको मन जितेकी थिइन् । यूट्युव, सामाजिक सञ्जाल र जितु नेपाल (मुन्द्रे) को कमेडी क्लवमा देख्दै आएको फुलन्देकी आमालाई धरानेहरुले प्रत्यक्ष देख्न पाउदा हौसिएका थिए । कार्यक्रमम कुशल थलङको समेत प्रस्तुतिले दर्शकको साथ पाएको थियो । उनले आफ्ना चर्चित गीतहरु धराने दर्शकसामू पस्केका थिए । यसैगरी, एक समय धरानमा संगीत विद्यालय खोलेर थुप्रै गायक गायिका स्टेजमा उतारिसकेका वरिष्ठ संगीतकार ओमप्रकाश राईले पनि आफ्नो प्रस्तुती दिएका थिए । त्यतिमात्र हैन विभिन्न गीतको कभर संघ गाएर नेपाली गीत संगीतमा पाइला हालेका गायक महेन्द्र राई र गायिका दिपा तामाङको प्रस्तुती समेत खुबै जमेको थियो ।

IMG_5421

कार्यक्रममा हाँस्य कलाकार राकेश कमेडी, धरानका गायक भक्तिराज राई, गायिका सजना राई, संयोजक रमेश राई, स्मुल आइडलका १० जनाले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए । दोश्रो संस्करणको विजेता दार्जिलिङकी तार्मी लेप्चा, दोश्रो काठमाडौका विनोदराज तिवारी, तेश्रो सिक्कीमका सागर तामाङ र चौथो धरानका प्रेम लामालाई पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई एउटा गीत रेर्कड गर्न पाउने डमी कन्ट्रयाक्ट साथमा ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । दोश्रोलाई इलेक्ट्रीक गिटार, तेश्रोलाई हारमनियम र चौथोलाई अकुस्ट्रीक गिटार साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरीएको कार्यक्रम संयोजक रमेश राईले बताए । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, सरगम समुहका अध्यक्ष चन्द्र सोताङ, सल्लाहकार दिपक राज शर्मा पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

निर्णायक वरिष्ठ संगितकार ओमप्रकाश राई, बिबि अनुरागी र कुशल थलङले विजेता छनौट गरेका थिए । प्रतियोगितामा २ सय १६ जना कलाकारहरूले भाग लिएका थिए । हाम्रो सुर सरगम समुहले १ वर्ष अघिदेखि इन्टरनेटको माध्यमबाट एनड्रोइड मोवाइलको एप्स स्मुलमा अडियो तथा भिडियो गीत गाउन मिल्ने एक प्रकारको एप्स स्टुडियो तयार गरी प्रतियोगिता गर्दै आएको छ । यस मोबाइल एप्समा म्यूजिक ट्याक उपलब्ध हुन्छ जसमा आफ्नो इच्छा अनुसारको गीत गाउन वा रेकर्ड गर्न सकिन्छ । प्रतियोगीहरुले स्मुलमा गीत गाएपछि आयोजकले निर्णायकहरुलाई ती प्रस्तुती फरवार्ड गरी निर्णायकले भिडियोमा गाएको हेरेर छनौट गरी विजेता घोषणा गरेको थियो । साउन १ गतेबाट सुरू भएको प्रतियोगितामा टप ८०, टप ४०, टप ३०, टप २०,टप १० हुँदै विजेताको घोषणा गरीएको थियो ।