धरान: मोटरसाइकलमा स्कर्टिङ गरेर टेम्पोमा गाँजा ल्याउदै गर्दा धरानको शिवधाराबाट ३ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले २० केजी गाँजा पनि बरामद गरेको छ । पक्राउ परेकालाई छुटाउन र गाँजा किन्न ५० हजार बोकेर विराटनगरबाट आउने मुख्य कारोबारी पनि समातिएका छन् ।

गाँजा टेम्पोमा आउदै गरेको बिशेष सुचनाको आधारमा प्रहरीले शनिबार दिउँसो धरान १३ शिवधारामा एम्बुस थापेको थियो । सो क्रममा टेम्पोमा २ वटा झोलाभित्र प्याकेजिङ गरेको गाँजा फेला परेको थियो । टेम्पो को १ ह ६२५० मा रहेका धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ बर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ का २३ बर्षीय आइते भन्ने मदन राई पक्राउ परेका छन् भने टेम्पोलाई अघि अघि स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउँपालिका ३ हाल धरान १७ बस्ते २३ बर्षीय विजय राई पनि पक्राउ परेका छन् । मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति फरार भएको र उनको खोजी तीब्र भएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

प्रहरीलाई घुस दिन आउदा पक्राउ

gaja1

टेम्पो, मोटरसाइकल र गाँजासहित पक्राउ परेका ३ जना मध्ये विजयको मोवाइलमा निरन्तर फोन आएको थियो । पटक पटक फोन आएपछि डिएसपी तिम्सिनाले एक जना प्रहरी जवानलाई रिसिभ गर्न लगाए । फोन गर्ने व्यक्ति थिए, विराटनगर महानगरपालिका १५ का ३६ बर्षीय सुरज कुमार साह । उनी त्यही २० केजी गाँजा खरीदकर्ता रहेछन् ।

यो कुरा खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने योजना बनायो । त्यसपछि, गाँजा ल्याउने व्यक्ति भएर कुरा गर्दै ‘एक जना साथी पक्राउ परेको र प्रहरीसँग कुरा मिलेकोले एक लाख लिएर छुटाउन आउन’ भन्यो । मोवाइलमा प्रहरी बोलिरहेको भन्ने साहले भेउ नै पाएन । उनी इटहरी आइपुगे । प्रहरी जवानले धरानमा समातिएकोले धरानै आउन भन्यो । साह पैसा बोकेर धरान आउदै गर्दा धरान ८ स्थित साम्पाङ चोकबाट पक्राउ परे ।

IMG_20190408_091211

साहले फोनमा कुरा भएजस्तो एक लाख बोकेका भने थिएनन् । प्रहरीले उनको साथबाट ५० हजार वरामद गर्यो । उनले त्यो पैसा गाँजालाई एड्भान्स दिन र प्रहरीलाई पनि पैसा दिएर पक्राउ परेका छुटाउन आएका थिए । आज बिहान इलाका प्रहरी कार्यालय धरानले टेम्पो, मोटरसाइकल, गाँजा र पैसासहित पक्राउ परेका ४ जनालाई नै सार्वजनिक गरेको छ । ‘लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा कारबाही हुन्छ,’डिएसपी तिम्सिनाले भने । ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी लागुऔषध ओसारपासर गर्नेलाई २ देखि १० बर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ ।