धरान: नयाँ वर्षको अवसरमा धरानमा ‘टुबोर्ग गजुर म्यूजिकल रिदम नाइट–२०७६’ आयोजना हुने भएको छ ।

होटल गजुर प्यालेस धरानको आयोजनामा उक्त सांगीतिक लाइभ कन्सर्ट हुने भएको हो । गजुर धरानमा २ महिना अघि मात्र खुलेको धरानको एक मात्र २ तारे होटल हो । होटल परिसरमा हुने सागीतिक कार्यक्रममा दार्जिलिङको फ्रोजन व्याण्डले लाइभ प्रस्तुती रहने कार्यक्रम संयोजक निश्चल पलिखेले बताए । फ्रोजन व्याण्डको धरानमा यो तेस्रो प्रस्तुती हो । संयोजक पलिखेका अनुसार कार्यक्रममा बेली डान्सर बिना शाक्यको विशेष प्रस्तुति रहने छ भने द भ्वाइस अफ नेपालको उत्कृष्ट ८ की विद्या तिवारीको समेत प्रस्तुती रहने छ । धरानको हाम्रो डान्स सेन्टरको नृत्य र डिजे डक्सको डिजे सेसन रहने उनले बताए । ‘दार्जिलिङको व्याण्डको लाइभ प्रस्तुति हुन्छ, डान्स र डिजे प्रस्तुत हुन्छ’ संयोजक पलिखेले भने ‘तीन वटा इभेन्ट हामी एउटै स्टेजमा गदैछौं, त्यसैले यो एउटा ठुलो इभेन्ट हो’ ।

साँझ ६ बजेदेखि रातीको १२ बजेसम्म हुने कार्यक्रममा प्रबेश शुल्क १ हजार ४९९ रुपैयाँ तोकिएको छ । प्रबेश टिकटमा ड्रिङ्स, स्न्याक्स र बेलुकीको खाना उपलब्ध हुने होटलका सञ्चालक गोपाल प्रसाद आचार्यले बताए । २ हजार ५ सय रुपैयाँमा परिवारै आउन पाइने बताइएको छ । ‘हामीले इन्ट्री फि लिएका छैनौं’ होटल सञ्चालक आचार्यले भने ‘बेलुकीको डिनरको कष्ट मात्र लिएको हो, त्यसमा ड्रिङ्स र स्न्याक्स पनि छ’ । नेपालकै चर्चित बेली डान्स धरानको लागि नौलो हुनसक्ने आचार्यले बताए । कार्यक्रमको लागि सिमित २ सय ५० वटा मात्र टिकट विक्री गरिने उनको भनाई थियो । कार्यक्रमबाट उठेको रकमबाट १० हजार रुपैयाँ सामाजिक सेवामा खर्च गरिने उनले बताए । कार्यक्रमको सञ्चालन मोडल मेरीना तुम्साले गर्ने छिन् ।