इटहरी:मह सञ्चारको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र दाल भात तरकारी आगामी बैशाख २० गतेबाट प्रर्दशन हुने भएको छ ।

बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ कलाकार हरिबंश आचार्यले नेपाली भाषाको बिकास, प्रवर्धन र संरक्षणका निम्ति चलचित्र निर्माण गरिएको बताए । उनले भने,'शत्रु गतेले राम्रो बजार पाएपछि हामीले यो चलचित्र निर्माण गर्ने योजना बनाएका थियौँ,चलचित्रमा नेपालमै रोजगारीको अवसर सृजना गरी जीवीकोपार्जन गर्नुपर्ने सन्देश बोकेको छ।'

उनले पछिल्लो समय चलचित्र क्षेत्रले बजार नपाएको बताउँदै अंग्रेजी र हिन्दी चलचित्रसँग पनि प्रतिष्पर्धा रहेको बताए । 'यो विसुद्ध मनोरञ्जन गराउँने चलचित्र हो,'उनले भने,'हामीले बनाएको चलचित्र चल्छ नै भनेर ग्यारेण्टी दिन सक्ने अवस्था छैन, हामीले कोशिस गरेका हौँ ।' कार्यक्रममा कलाकारद्धय किरण केसी, शिबहरी पौडेल, छाटो समयमै राम्रो चर्चा पाएकी नायिका आँचल शर्मा लगायको उपस्थिति रहेको थियो ।

चलचित्र पोखरा, काठमाडौँ, चितवन लगायतका स्थानमा ५१ दिन लगाएर सुटिङ गरिएको छ । अहिलेसम्म २ करोड लागत लागेको भएपनि चलचित्रको पूरा रकम ३ करोड लागत लाग्ने बताइएको छ । सुदन केसीको निर्देशनमा बनेको उक्त चलचित्रको भिजिट भिसामा नामक गीत डेढ करोड बढीले हेरिसकेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, राजाराम पौडेल, विल्सनविक्रम राई, जयनन्द लामा, प्रियङ्का कार्की, निरुता सिंह, आँचल शर्मा लगायतको अभिनय रहेको छ ।