धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवीद्वारा विभूषित गरिन् ।त्यसरी विभूषित हुनेहरुमा आधा दर्जन चिकित्सा सेवा क्षेत्रका डाक्टरहरुले सुप्रवल जनसेवा श्रीद्वारा विभूषित भएका थिए ।
ती मध्ये पनि मोफसलबाट विभूषित हुने एक मात्र प्राध्यापक डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा.पशुपति चौधरी हुन् । अन्य उपत्यकाभित्रै कार्यरत चिकित्सकहरु विभूषित भएपनि मोफसलमा कार्यरत एक मात्र चिकित्सक डा.चौधरी विभूषित भएका हुन् । राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा डा.चौधरी पनि विभूषित भएका थिए ।
प्रा.डा. चौधरीलाई जनमुखी कार्य गरी चिकित्सा सेवा पुर्याएवापत पदक दिइएको हो । डा.चौधरी विगत १२ बर्षदेखि वीपी प्रतिष्ठानमा कार्यरत छन् । हाडजोर्नीका बिशेषज्ञ चिकित्सक रहेका डा.चौधरीले प्रतिष्ठानमा थुप्रै अनुसन्धान एवं उपचार पद्दतीको शुरुवात पनि गरेका छन् । हाल उनी विभागीय प्रमुख छन् ।

राष्ट्रपतिबाट विभूषित हुदा मोफसलमा रहेर पनि निरन्तर सेवामा रहदा राज्यको नजरमा परिन्छ भन्ने सन्देश दिएको प्रा.डा.चौधरीले बताए । 'वीपी प्रतिष्ठान बाहिर गएर काम गर्न नपाउने संस्था हो, त्यसैले हामी यहाँ हरबखत सेवामा नै तल्लिन रहन्छौ, त्यसैले यो पदक मेरो लागि मात्र होइन, मजस्तै मोफसलमा रहेर निरन्तर सेवा गर्ने सबैको लागि प्रेरणा हो,'डा.चौधरीले भने,'मलाई काम गर्ने झन् हौसला मिलेको छ ।' आफ्नो विभागलाई अझै प्रभावकारीरुपमा विस्तार गर्ने योजना रहेको डा.चौधरीले बताए । डा.चौधरी एक कार्यकाल सहायक अस्पताल निर्देशककोरुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् भने हाल विभागीय प्रमुखसँगै प्रतिष्ठानको प्रवक्ता पनि हुन् ।


































































