धरान(डेस्क) : रेडमुन इन्टरटेन्मेन्ट धरानको आयोजनामा स्टेट वान सिङ्गिङ आइडल २०१९ खुल्ला गायन प्रतियोगिता हुने भएको छ । उक्त खुल्ला गायन प्रतियोगिता रेडमुन इन्टरटेन्मेन्ट धरानको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

युवाहरुमा रहेको गायन क्षमतालाई उजागर गर्ने तथा प्रतियोगीहरुको गायनजीवन वृतिविकास गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको रेडमुन इन्टरटेन्मेन्ट धरानले विहीबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताको अडिसन आगामी जेठ १८ गत्तेबाट असार १४ गत्तेसम्म प्रदेश १ को खोटाङको दिक्तेल, उदयपुरको गाईघाट, संखुवासभाको खादबारी, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापाको विर्तामोड तथा दमक, मोरङको विराटनगर र सुनसरीको धरान तथा विराटनगरमा हुने छ ।

सो प्रतियोगिताको अडिसनपश्चात ओपन, रिदम, मेगा, सेमिफाइन, र फाइनल गरी ५ राउण्डमा हुने रेडमुन इन्टरटेन्मेन्ट धरानका अध्यक्ष रोशन प्रधानले बताए । अध्यक्ष प्रधानका अनुसार अडिसनबाट १ सयजना ओपन राउण्डका लागि छनौट हुनेछन् भने ओपनबाट ५० जना रिदमको लागि, रिदमबाट २५ जना मेगाको लागि, मेगाबाट १० जना सेमिफाइनलको लागि, मेगाबाट १० जना सेमिफाइनलको लागि र सेमिफाइनलबाट ५ जना फाइनलको लागि छनौट हुनेछन् । फाइनल राउण्ड भदौ १४ गत्ते धरानको सभागृह हलमा हुनेछ भने फाइनलबाट विजेता, उपविजेता र तेश्रो छनौट हुनेछ ।

यस्तै गायन प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ बराबरको भेष्पा स्कुटर, एउटा गीत रेर्कडीङ तथा म्युजिक भिडीयो, ट्रफि साथमा गिफ्ट ह्याम्पर गरी ६ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले नगद ७० हजारसहित एउटा गीत रेर्कडिङ, ट्रफि, तथा गिफ्ट ह्याम्पर गरी १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछ भने तेश्रो हुनेले नगद ५० हजार सहित एउटा गीत रेकर्डिङ, ट्रफि साथमा गिफ्ट ह्याम्पर गरी ८० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको टप फाइभ पुगेका प्रतियोगिहरुलाई मात्र खाना, बस्नको सुविधा गरीएको आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको अडिसन र राउण्ड अवधिभर प्रदेश १ कै राष्ट्रिय चर्चित गायक तथा संगितकारहरुले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अहिलेसम्म निर्णायकको टुङ्गो नलागेको उक्त पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भने हलेशी उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाले भूमिका निर्वाह गर्ने छन् ।