धरान: एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी धरानमा चौथो संस्करणको ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प आगामी बैशाख तेस्रो सातादेखि सञ्चालन गरिने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघ सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा धरान–१८ स्थित डिपोट माविको बास्केटबल कोर्टमा बैशाख २१ गतेदेखि उक्त क्याम्प सञ्चालन गरिने भएको हो । क्याम्प एक महिनासम्म सञ्चालन हुने संघले धरानमा विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्याम्पमा ५० जना छात्र तथा छात्रालाई बास्केटबल खेलको प्रारम्भीक ज्ञान दिइने कार्यक्रम संयोजक एबंम पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले बताए । उनले एसईई दिएका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिइने बताए । ‘एसईई दिएका विद्यार्थीहरुको लागि पहिलो प्राथमिकता हो’ उनले भने ‘सिक्न चाहाने कक्षा १० देखि मुनिका विद्यार्थीको लागि पनि हुन्छ तर, फ्रि स्कलसिप भने पाउदैनन्’ ।

प्रशिक्षण विहान ३ घण्टा दिइने छ । क्याम्पबाट छानिएका उत्कृष्ठ १८ विद्यार्थीको लागि एम्स एकाडेमी, डिपो मावि, सगरमाथा एसडी कलेज, धरान आदर्श कलेज र युरेका स्कुलमा छात्रबृति प्रदान गर्ने धरान बास्केटबल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए । प्रशिक्षण पूर्वाञ्चल बास्केटबल प्रशिक्षक चाम्लिङसहित सहयोगीहरु हेमन्त राई, नविन राई, भोजराज लिम्बू, चिरञ्जिवी गिरी र डा.आशा राईले दिने बताइएको छ । चौथो संस्करणसम्म आइपुग्दा धरानमा बास्केटबल खेलको धेरै विकास भएको प्रशिक्षक चाम्लिङले बताए ।

‘पहिला विद्यालयहरुमा केटाहरुको लागि मात्र छात्रबृति दिने गरिन्थ्यो, तर अहिले केटा–केटी बराबरी नै छात्रबृति दिइन्छ’ प्रशिक्षक चाम्लिङले सुनाए,‘ट्यालेन्ट हन्टको प्रोडक्टहरु राष्ट्रिय टिममा खेलिरहेको र विभिन्न विद्यालयमा प्रशिक्षकको रुपमा जव गरिरहेका छन्’ । प्रशिक्षणका लागि विद्यार्थीले १५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकको भनाइ छ ।