धरान: धरान–१७ रेल्वे निबासी गीतकार रमेश चक्रद्वारा रचित गीतहरुको एकल साँझ शनिबार धरानमा हुने भएको छ ।

धरान–१७ को रेल्वे टोल विकास संस्थाको आयोजनामा उदय सामुदायिक भवनको सहभा हलमा एकल साँझ हुने भएको हो । बेलुका करिब ५ बजेदेखि शुरु हुने साँझमा गीतकार चक्रले रचना गरेका करिब एक दर्जनबढी गीतहरु प्रस्तुत हुने रेल्वे टोल विकास संस्थाका अध्यक्ष समेत रहेका गीतकार चक्रले बताए । ‘मेरो रचनाका करिब १२–१४ वटा गीत लाइभ प्रस्तुत हुन्छन्,’पत्रकार सम्मेलनमा गीतकार चक्रले भने,‘गीतहरु धरानका स्थानीय गायक तथा गायिकाहरुले गाउनुहुनेछ ।’

वडा समिति कार्यालयको संयोजन तथा निषाद संगीतको संगीत संयोजनामा साँझ हुन लागेको हो । साँझमा खादबारीका गायक उमंग लामासहित धरानका दिपक दर्नाल, मेरी शाक्य, अनिल घिमिरेलगायतको प्रस्तुती हुने छ । गीतकार चक्रको ‘देश डुबेको बेला..., म किन चुपचाप बसेको’ ए आमा धरतीलगायतका गीतहरु कर्णप्रिय छन् । तत्कालिन माओबादी द्धन्द्धको देशले भोगीरहेको दुःखका विषयमा उनले गीतहरु रचना गरेको बताए ।

लामो समय बैदेशी रोजगारीमा विताएका चक्रले हालसम्म १ हजार बढी गीतहरु रचना गरिसकेका छन् । उनको रचनामा चर्चित गायक सत्य–स्वरुपराज आचार्य, प्राश्ना शाक्यले समेतले गाएका छन् । उनी गीत–संगीतको माध्यमबाट २०६० सालमा सुनौलो अभियान शान्ति पदयात्रा लिएर मेची–महाकालिसम्म अभियान लिएर हिडेका थिए । स्थानीय कला संगीतलाई थप उजागर गर्नको लागि हरेक ६–६ महिनामा एकल साँझ लगायतको कार्यक्रम गर्ने योजना रहेको चक्रले बताए ।