धरान: भोली सोमबारदेखि हुने भनिएको नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाधिवेशन अन्तिम समयमा आएर अन्योलमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरानमा हुन लागेको साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि अन्तिम समयमा आएर रेडक्रशको महाधिवेशन अन्योलग्रस्त बनेको हो । रेडक्रसले आज दिउँसो पत्रकार सम्मेलन गरेर भोलीदेखि हुने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । धरान १३ स्थित धरान ब्यांकेटमा हुने महाधिवेशनको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको थियो । रेडक्रसको महाधिवेशन धरानमा २३ गतेदेखि २५ गतेसम्म हुने तयारीमा थियो ।

महाधिवेशनमा सहभागी हुन ७७ जिल्ला र विदेशी दातृनिकायहरुबाटसमेत प्रतिनिधि र पर्यकवेक्षकहरु धरान लगभग आइसकेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले आजै अत्यन्त जरुरी गोप्य पत्र पठाउदै महाधिवेशन र निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिएपछि अहिले रेडक्रस केन्द्रीय समितिको बैठक धरानमा बसीरहेको छ । ‘पत्र आएको हो, अहिले के गर्ने भनेर केन्द्रीय समितिको बैठक बसीरहेको छ,’रेडक्रसका सुनसरी जिल्ला सभापति उमेश थापाले भने ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रत्त सञ्चार केन्द्रको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानी लगायतका आयोजनारकार्यक्रमहरूमा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय समेतमा उजुरी परेको र छानबिन तथा अनुसन्धान भइरहेकोले भन्दै जिल्ला प्रशासनले साधारण तथा निर्वाचन रोक्न भनेको छ ।




































































