धरान : विद्यालयस्तरमा नै बास्टेवल खेलाडी उत्पादन गर्ने उद्देश्यले चौथो ट्यालेन्ट हन्ट बास्केटवल प्रशिक्षण आइतबारदेखि धरानमा शुरु भएको छ ।
एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी धरान बास्केटवल संघको आयोजनामा प्रशिक्षण शुरु भएको हो । धरान १८ स्थित डिपोट आदर्श बहुमुखी क्याम्पसको कोर्टमा शुरु भएको प्रशिक्षणमा ४१ जना विद्यार्थीहरु सहभागी छन् । प्रशिक्षण करिब तीन सातासम्म सञ्चालन हुुने आयोजक संघले जनाएको छ । दैनिक तीन घण्टा प्रशिक्षण सञ्चालन हुनेछ ।
आइतबार उद्घाटन समारोहमा प्रमुख अतिथि एवं नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र युवा नेता दीपक वनेपालीले प्रशिक्षकहरुलाई संयुक्तरुपमा वल हस्तान्तरण गरेर प्रशिक्षण९क्याम्प०को उद्घाटन गरेका थिए । प्रशिक्षणमा सहभागी भएकाहरुमध्ये उत्कृष्ट डेढ दर्जन विद्यार्थीहरुलाई विभिन्न कलेजमा छात्रवृत्ति प्रदान गरिने बास्केटवल प्रशिक्षक विकास राईले जानकारी दिए । उनका अनुसार यसपाली उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई एम्स एकेडेमी, डिपो, धरान आदर्श, युरेकालगायत उच्चमावि तथा कलेजहरुले छात्रवृत्ति दिने सहमति जनाएको छ । संघले विगतमा पनि उत्कृष्ट एक दर्जन महिला खेलाडीहरुलाई छात्रवृत्ति दिलाएको प्रशिक्षक राईले बताए ।
खेलको विकास तथा खेलाडी उत्पादनको उद्देश्य लिइएकोले ट्यालेण्ट हन्टमा एसईई नदिएका विद्यार्थीहरु पनि सहभागी भएको जिल्ला संघका अध्यक्ष सुवेदीले जानकारी दिए । नगर खेलकुद विकास समितिका अध्यक्ष राईले धरानमा खेलकुदको विकास गर्न समितिले सामुदायिक विद्यालयहरुमा पुर्वाधार विकासमा लगानी गरिरहेको बताए । बास्केटवल संघसँग सहकार्य गरेर चाडै राष्ट्रिय बास्केटवल प्रतियोगिता पनि आयोजना गरिने उनले खुलाए ।
सहभागी विद्यार्थीहरुलाई खेलस्तर हेरेर दुई समुहमा विभाजन गरेर मात्र प्रशिक्षण दिइने आयोजक संघले जनाएको छ । मुख्य प्रशिक्षक विकास राई र उनका सहयोगीकोरुपमा हेमन्त राई, प्रदेश १ वास्केटवल टिम क्याप्टेन नविन राई, भोजराज लिम्वु, चिरन्जीवि गिरी, सृजन आचार्य, सुजन राई, शिशिर पोखरेल लगायत रहनेछन् । धरान बास्केटवल संघ आयोजक रहेको प्रशिक्षणमा जिल्ला बास्केटवल संघ सुनसरीको सहयोग र धरान उपमहानगरपालिकाको संयोजन रहेकये छ ।




































































