धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिले ‘धरान वर्ष खेलाडी’ घोषणा गर्ने भएको छ । धरान–१० स्थित सैनिक भवनमा एक कार्यक्रमको आयोजना गरी आउदो जेष्ठ १० गते दोस्रो धरान वर्ष खेलाडी घोषणा गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलन गदै समितिले घोषित हुने खेलाडीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाएको छ ।। नगर खेलकुद विकास समितिका संयोजक सुबास राईको संयोजकत्वमा समितिका सदस्य प्रताप तामाङ र विकास चाम्लिङ गरी ३ सदस्यीय छनौट समिति गठन गरिएको छ । समितिले वर्ष खेलाडी घोषणाको लागि ५ वटा बुदाँमा मापदण्ड तयार गरेको समिति सदस्य विकास चाम्लिङले बताए । ‘समितिले केही मापदण्ड तयार गरेको छ’ समिति सदस्य चाम्लिङले भने ‘मापदण्ड अनुसार छनौट हुन्छ, विभिन्न खेलकुद संस्थाबाट खेलाडीको विवरण आएको छ, बसेर हामी छलफल गदैछौं’ । धरानका विभिन्न खेलकुद संघसंस्थालाई खेलाडी विवरणसहित सम्पर्क गर्नको लागि सुचना दिए अनुसार कराँते, तेक्वान्दो, पारा (फरक क्षमता) ओलम्पिक, बक्सिङ, टेवलटेनिस र गल्फले खेलाडीको विबरण पेश गरेको छ । उनले खेलाडी छनौटमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अफिसियल स्तरको प्रतियोगितामा खेलाडीले पदक प्राप्त गरेको हुनुपर्ने र धरानको स्थायी बासिन्दा हुनुपर्ने स्पष्ट पारे ।
राष्ट्रिय होस् या अन्तराष्ट्रिय अफिसियल स्तरको प्रतियोगिताबाट पदक पाएको हुनपर्यो’ उनले भने ‘त्यसमा पनि धरानको स्थायी बासिन्दा हुनपर्छ, किन भने हामीले धरानको खेलाडीलाई प्रोत्साहन गर्ने हो’ । धरानबाहिरका खेलाडीलाई मान्यता नदिने उनले स्पष्ट पारे । समितिले तयार गरेको मापदण्डमा उल्लेख भए अनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रण तथा मैत्रीपूर्ण प्रतियोगितालाई मान्यता नदिने, खेलाडीको स्थायी ठेगाना धरानको हुनुपर्ने र खेलाडीले आफ्नो नागरिकताको फोटोकपी पेश गर्नुपर्ने, २०७५ सालमा आयोजना भएका प्रतियोगितालाई मात्र मान्यता दिइने, खेलाडीले आफु आबद्ध खेलकुद संघबाट खेलाडीहरु छनौटको लागि विवरण पेश गुर्नेपर्ने, मैत्रिपूर्ण प्रतियोगितालाई मान्यता नदिने भन्ने उल्लेख छ ।
धरानका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि शुरु भएको बर्ष खेलाडी घोषणा कार्यक्रमलाई निरन्तता दिइएको संयोजक राईले बताए ।
पूर्व खेलाडी सम्मानित हुने
विगतमा धरानको खेलकुद क्षेत्रमा योगदान पुर्याउने पूर्व खेलाडीलाई पनि यस पटकदेखि सम्मानित गरिने भएको छ । नगर खेलकुद विकास समितिले गत वर्षदेखि आयोजना गदै आएको ‘धरान वर्ष खेलाडी घोषित’को अवसरमा यसपटक देखि पूर्व खेलाडीलाई पनि सम्मानित गर्ने भएको हो । सम्मानित हुने खेलाडीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक राईले बताए ।
धरानको खेलकुद क्षेत्रमा योगदान दिएका खेलाडीलाई छनौट गरेर सम्मानित गर्ने उनको भनाई थियो । ‘धरानको खेलक्षेत्रमा योगदान गरेको आधारमा छनौट गछौं’ संयोजक राईले भने ‘अग्रज खेलाडीलाई पनि सम्मान गर्नुपर्छ भनेर यसपटकदेखि शुरु गरेका हौं’ ।


































































