धरान:विवाहित महिलाहरुमा भएको क्षमता विकास, पहिचान र अवसर प्रदान गर्ने उद्देश्यले आयोजित मिसेस स्टेट वान दोस्रो सिजनका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

शनिवार पर्यटकीयस्थल भेडेटार(काम्फेक)मा कार्यक्रम आयोजना गरी विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको हो । वुमन वर्थ गु्रपद्धारा आयोजित मिसेस दोस्रो सिजनका विजेता पुष्पकला फोम्वोले नगद १ लाख, फस्ट रनरअप ज्योति झाले नगद ५० हजार र सेकेन्ड रनरअप रोशनी राईले नगद २५ हजार रुपैया हात पारेकी थिइन् । उनीहरुलाई सोही नगद पुरस्कार प्रदान गरिएको हो । यसैगरि, सहयोगी संघ,संस्था तथा व्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

आयोजक संस्थाकी अध्यक्ष सुजता श्रेष्ठ, धरान वडा नं १८ का वडध्यक्ष प्रविण राई, आयोजक संस्थाका उपाध्यक्ष उमा ताम्रकार, सचिव छाया श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्रकारले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए । २०७५ फागुन २५ गते सम्पन्न मिसेस स्टेट दोस्रो सिजनमा १६ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । सहभागीहरुको क्षमता तथा व्यक्तित्व विकासको लागि आयोजकले उनीहरुलाई करिव ३ साताको विभिन्न विधामा प्रशिक्षण दिलाएको थियो । आयोजक संस्था महिला सशक्तिकरण तथा सामाजिक कार्य गर्ने उद्देश्यले विवाहित महिलाहरुद्धारा स्थापना गरिएको संस्था हो ।