इटहरी : पाथिभरा जब लिंक प्रा.लि. इटहरी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच दुर्घटना बिमा सम्बन्धी सम्झौता भएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १ नम्बर प्रदेश कार्यालय इटहरीमा एक कार्यक्रमका बिच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारी र इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार जब लिंक मार्फत रोजगारीका लागि जाने सम्पुर्णको ५ लाख बराबरको दुर्घटना बिमा निःशुल्क गरिनेछ । पहिलो बर्षका लागि बिमांक रकम जब लिंकले तिरिदिने र बाकिका बर्षहरुमा बिमित स्वयम आफैले उक्त बिमांक रकम तिर्नुपर्ने बताए । सम्झौता पश्चात आयोजित कार्यक्रममा बोल्दै जब लिंक प्रालिका प्रबन्ध निर्देशक अधिकारीले सबैको पहुंचमा बिमा कार्यक्रम पुग्न नसकेका कारण धेरै असुरक्षित भएर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।
जब लिंकले बिमा निःशुल्क गर्ने योजना ल्याएसंगै बिमाको महत्व झनै बढ्दै जाने कुरामा जोड दिए । कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख भट्टराईले जब लिंक संग मिलेर काम गर्न पाउदा निकै खुसी लागेको बताए । उनले १ नम्बर प्रदेशमै पहिलो पल्ट सुरुवात गरिएको यस कार्यक्रमले धेरैलाई फाइदा पुग्ने कुरामा जोड दिए । कार्यक्रममा इन्स्यारेन्सका बिराटनगर शाखाका प्रबन्ध सुरेश भट्टराई एवम इटहरी शाखाका प्रबन्धक जगत फुयालले समेत बिमाको महत्वका बारेमा प्रष्टयाएका थिए । पाथिभरा जब लिंक ३ महिना अघिबाट सञ्चालमा आएको हो । यस अवधिमा जब लिंक मार्फत धेरैले रोजगारी प्राप्त गरिसकेका छन ।






































































