इटहरी: चर्चित गायक राजनराज सिवाकोटी र गायिका मिलन अमात्य सामाजिक काममा जुटेका छन् । अन्य समयमा गीत, संगीतकै क्षेत्रमा व्यस्त रहने उनीहरु अहिले आफूहरुले गीत, संगीतबाट कमाएको केही पैसा सामाजिक काममा खर्च गर्न थालेका हुन् ।
इटहरी १९ भवानीपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा उनीहरुले आँफूले कमाएको केही पैसा कटाएर यहाँ अध्ययन गर्ने विपन्न बालबालिकालाई सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच उनीहरुले नगद २ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार प्रसाद गुरागाई र विद्यालयका प्रअ शिबचन्द्र राईलाई हस्तान्तरण गरे । नगद हस्तान्तरण गरेपछि कार्यक्रममा बोल्दै गायक राजनराज सिवाकोटीले आँफूले सानै उमेरदेखि सामाजिक योगदान गर्न उत्प्रेरित भएको भएपनि अहिले यहाँको शहीद स्मृति आवासीय विद्यालयलाई योगदान गर्न पाउनु खुशी भएको बताए । उनले भने, ‘मलाई सानैदेखि सामाजिक काम गर्न उत्प्रेरणा भएको हो, खासमा मानिसलाई पैसाले कहिल्यै पुग्दैन रहेछ ।’
कार्यक्रममा गायिका मिलन अमात्यले गीत, संगीतको क्षेत्रबाट कमाएको पैसा बालबालिकाका लागि छुट्याएको बताईन् । उनले भनिन्,‘बालबालिकाको स्वास्थ्य, शिक्षाका क्षेत्रमा बजेट छुट्याएर केही सामाजिक काम गरौँ भन्ने भएर यो काम गरिएको हो ।’ उनका अनुसार गीत गाएर कमाएको केही प्रतिसत उक्त विद्यालयलाई आगामी दिनमा पनि दिने बताईन् ।

कार्यक्रममा इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले सकारात्मक सोचका साथ उक्त अभियान चलाउनु अनुकरणीय रहेको बताए । उनले भने, ‘सद्धभावना र सकारात्मक सोचले यो सामाजिक काम गर्नु सराहनीय रहेको छ, यी बालबालिका भविष्यका कर्मधार हुन् ।’ राष्ट्रिय योजना आयोग प्रदेश १ का सदस्य डा. पूर्ण लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शिबचन्द्र राईले २०६६ सालमा स्थापना भएको यो विद्यालयमा द्धन्द्ध पीडित, सीमान्तकृत र विपन्न बालबालिका अध्ययन गर्दै आएको बताए ।







































































