धरान: प्रदेश १ स्तरीय ‘वाइवाइ एसईई स्टेट–१ आइडल’को उपाधि हिमशिखर बोडिङ स्कुल तरहराका गौरव राईले जितेका छन् ।

धरानबाट सञ्चालित फक्ताङलुङ (एफटीएल)अनलाइन टिभीको आयोजनामा धरान–८ सभागृहमा शुक्रबार साँझ भएको फाइनलमा ९ जना प्रतिस्पर्धीलाई पछि पादै गौरबले उपाधि जितेका हुन् । बरिष्ठ गायक दिप श्रेष्ठको ‘वितेका कुराले...’बोलको गीत गाएका उनले निर्णायकको मन जिते । उनले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड गर्ने, एक म्यूजिक भिडियो र प्लस टु अध्ययनको लागि पूर्ण छात्रबृत्ति पनि प्राप्त गरे ।

यस्तै, पञ्चकन्या माध्यमिक विद्यालय पथरीशनिश्चरेका राज लोहार फष्ट रनरअप र ग्लवरी इंलिस स्कुल झापाका मिङसोहाङ केरुङ सेकेण्ड रनरअप बने । उनीहरुले क्रमसः नगद ३० हजार र २० हजार रुपैयाँसहित ५० प्रतिशत र ३० प्रतिशत प्लस टु अध्ययनको अवसर प्राप्त गरे । ‘भ्वाइस अफ पब्लिक च्वाइस’ केके इन्टरनेशनल स्कुल धरानकी आस्था विश्वकर्मा घोषित भइन् । विजेता बनेकाहरुलाई १ नम्बर प्रदेश प्रमुख गोविन्द तेम्बाहाङ, एफटीएलका प्रबन्धक डम्बर कुमार तुम्बापोलगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

S8880014

प्रतिस्पर्धीहरुले सिंगल र डबल एक–एक वटा गीत लाइम म्यूजिकमा प्रस्तुत गरेका थिए । त्यसैको आधारमा विजेता घोषित गरिएको थियो । उत्कृष्ठ १० मा छनौट भएका प्रतिस्पर्धीको लागि जेष्ठ ४ गते दिउसो १ बजेदेखि २४ गते विहान ८ बजेसम्म भोटिङ खुल्ला गरिएको थियो । एसएमएस भोटिङबाट २५ प्रतिशत नम्बर पाएका थिए । बैशाख १४ गते ओखलढुङबाट शुरु गरिएको अडिसन विभिन्न जिल्ला पुगेर २ सय जना सहभागी भएका थिए । अडिसनसंगै रिदम राउण्ड र गाला राउण्डहुँदै उत्कृष्ठ १० छनौट भएका थिए । प्रतियोगिताको निर्णायकहरुमा गायक दिपक लिम्बु, गायिका प्रश्ना शाक्य, प्राज्ञ राम धामी र संगीत प्रशिक्षक विनायक राई रहेका थिए । एसईई दिएर बसेका विद्यार्थीहरुको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।।