इटहरी : कुशल समालोचक एवम् साहित्यकार महेश पौडेलको नवकृति शून्य प्रहारको साक्षी कवितासंग्रहमाथि इटहरीमा विमर्श गरिएको छ ।


शनिबार इटहरीको कोशी सेन्ट जेम्स कलेजको सभा हलमा उनको कवितासंग्रह माथि विमर्श गरिएको हो । कार्यक्रममा विमर्श गर्दै कवि मनु मञ्जिलले पौड्याल एक कुशल समालोचक, कथाकार मात्रै नभएर कविताको गहिराईमा डुबेर कविता साधना गर्ने बताए । पौड्यालका कवितामा देशप्रतिको प्रेम आईरहन्छ, मञ्जिलले भने, कहिलेकाँही कविले लेखेका कवितामा कि केही हुँदैन, कि विश्व हुन्छ । उनले कविता लेख्नका लागि गहिरो साधना चाहिने कुरामा जोड दिए । कार्यक्रममाथि विमर्श गर्दै कवि सन्तोष थेवेले छोटो कविता लेखेर पनि त्यहाँ धेरै कुरा अटाउन सकिने बताए । छोटो कवितामा पनि उनले विचारको पक्ष राम्रो ढंगले प्रस्तूत गरेको छ । पौड्यालका कविता सरल, दार्शनिक र गम्भीर रहेको उनको तर्क थियो । विमर्श कार्यक्रमको सहजीकरण विराट अनुपमले गरेका थिए ।

साहित्य सञ्चार प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोशी सेन्ट जेम्स कलेजका सिईओ शशी श्रेष्ठले साहित्य कोसिस गरेर मात्र लेख्न नसकिने तर्क गरे । उनले भने, “साहित्य लेख्न कोसिसले मात्र नहुँदो रहेछ, यसमा अध्ययन र मेहनत धेरै गर्नुपर्दो रहेछ ।” कवि पौड्यालले कार्यक्रममा संग्रह बाहिरका चार कविता वाचन गरे । उनले समालोचना भन्दा आफ्नो सृजना बाँच्ने बताउँदै मोड, रित्तो झोला, अंकगणित र पेट शीर्षकको कविता वाचन गरे । प्राज्ञ विवश पोखरलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कवि बद्री भिखारीको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा डा. रामजी तिम्सिनाले स्वागत मंतब्य राखेका थिए भने टीका आत्रेयले सञ्चालन गरेकी थिईन् ।


शिखा बुक्सले प्रकाशनमा ल्याएको उक्त कृतिभित्र १ सय ८ वटा कविता समावेश गरिएको छ ।