धरान: प्रदेश नं १ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटबाट प्रदेशले कुनै उपलब्धी हासिल नगर्ने टिप्पणी गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले बजेटबारे प्रतिक्रिया दिदै बजेटमा नयाँपन नभएको र हलुका किसिमले ल्याएको बताए । यो बजेटबाट प्रदेशले कुनै उपलब्धी हासिल नहुने उनको दाबी थियो । ‘यो बजेट हलुका ढंगले ल्याइएको छ, नयाँ छैन । प्रदेशलाई कुनै उपलब्धी हुदैन,’उनले भने ।

बजेट सबैतिर छरेर ल्याएको टिप्पणी गर्दै नेता कोइरालाले चालु आर्थिक बर्षको बजेटको उपलब्धी समिक्षा हुनुपर्ने पनि बताए । ‘बजेट थोरै थोरै सबैतिर छरिएको छ । अनुदानमा आश्रित र वितरणमुखी देखियो,’कपुरीन्यूजसँग प्रतिक्रिया दिदै उनले भने,‘पोहोरको बजेटले कति उपलब्धी हासिल गर्यो ? पुँजीगत खर्च कति भयो ? यसको पनि समिक्षा हुनुपर्छ ।’

नेकपाको दुई तिहाईको सरकार भएकोले काम गर्न कुनै बाधा, अड्चन नभएपनि काम गर्न नसकेको उनले बताए । ‘दुई तिहाईको सरकार छ, काम गर्न के कुराले रोकेको छ? यो सरकारले काम गर्नै सकेन,’उनले भने ।