धरान(डेस्क) : नेपाल स्काउटको स्थापनाको ६८ औँ बर्षको अवसरमा धरान १२ स्थित एम्स रोभररेन्जर क्रियूले धरान ८ मा रहेको ल्याबोरेटरी मा.बि. लाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

एम्स एकेडेमीमा भएको कार्यक्रममा एम्स एकेडेमीका प्राचार्य मित्र तामाङले सभापतित्व ग्रहण गरेका थिए । स्काउटका जन्मदाता लर्ड वेडेन पावेल तथा लेडी वेडेन पावेलको तस्बिरमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा आफू जस्तै पढ्ने बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको सिनियर टिममेट पूजा राईले बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य सन्तोष कोइरालाले राखेका थिए भने कार्यक्रममाथि प्रकाश कलेजका निर्देशक अनुप तामाङले राखे । कार्यक्रममा शैक्षिक सामाग्री बुझ्दै एम्स एकेडेमीका स्काउटहरुले उदाहरणीय कार्य गरेको भन्दै सधैँ यस्तै असल भावना रहोस् भन्ने धारणा ल्याबोरेटरी मा.बि. का प्रधानाध्यापक एवम् रोभर लिडर शङ्कर भण्डारीले ब्यक्त गरे । कार्यक्रममा रोभर लिडर शुसिल राई, बराह ज्वलरीका विशाल बराईली, जगजीवन साह लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख एवम् स्काउटर हेमन्त भण्डारीले गरेका थिए ।

नेपालमा आजकै दिन अर्थात २००९ साल असार ५ गते स्काउटको स्थापना भएको थियो । हाल नेपाल स्काउटमा ६०,००० भन्दा बढी स्काउटहरु आबद्ध रहेका छन् भने सुनसरी जिल्लामा कलेज तहमा स्काउट सन्चालन गर्ने एम्स एकेडेमी एक मात्र कलेज रहेको छ ।