शाहिद कपुरको फिल्म कबिर सिंहले बक्स अफिसमा लगातार धमाका मच्चाइरहेको छ ।

सो फिल्मले रिलिज भएको दोस्रो शुक्रबार पनि झन्डै १३ करोड भारतीय रुपैयाँ व्यापार गर्यो । अब शनिबार र आइतबार विदाको फाइदा पनि पुग्ने देखिएको छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्म “आर्टिकल १५” ले खासै राम्रो बक्स अफिस कलेक्सन गर्न नसकेपछि कबिर सिंहले यो साता पनि राम्रो कमाइ गर्ने आकलन गरिएको छ । कबिर सिंहले अहिलेसम्म एक सय  ४५ करोडको व्यापार गरिसकेको छ ।

शनिबारको कलेक्सनले एक सय ५० करोडको कोसेढुंगा पार गर्ने पक्कापक्की जस्तै छ । दोस्रो सातासम्ममा फिल्मले २ सय करोडको कोसेढुंगा पार गर्ने अनुमान ट्रेड एनालिस्टले गरेका छन् । सो फिल्म साउथ फिल्म अर्जुन रेड्डीको रिमेक हो । फिल्मका निर्देशक शन्दिप बंगा छन् । फिल्ममा शाहिद कपुरको साथमा कियरा आडवाणी मुख्य भूमिकामा छिन् । सय करोड क्लबमा पुग्ने शाहिदको यो पहिलो फिल्म हो ।