धरान: कला, भाषा, साहित्य एवं गीतसंगीतको विकास तथा श्रीवृद्धिमा योगदान पुर्याउने विभिन्न ६ व्यक्तिहरु नगदसहित सम्मानित भएका छन् ।

धरान प्रज्ञा प्रतिष्ठानले एक अग्रज व्यक्तित्वलाई अभिनन्दन गरेको छ भने विभिन्न विधामा ६ जनालाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले कवि तथा अग्रज बामपन्थी बुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ‘विए’लाई अभिनन्दन गरेको हो । अस्वस्थ्यताको कारण उनी कार्यक्रममा उपस्थित हुन सकेनन् । उनलाई घरमा नै पुगेर अभिनन्दन गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, प्रतिष्ठानले भाषाविद् प्रा.डा.टंक न्यौपाने, वरिष्ठ कवि बम देवान, अग्रज रंगकर्मी शारदा शाक्य, चित्रकार प्रनोद दत्त, नृत्य प्रशिक्षक मणिकुमार राई र जनवादी गायक जीवन भटराईलाई नगदसहित सम्मान गरेको छ । सबैलाई प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे र प्रमुख अतिथि एवं धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए । उनीहरुलाई जनही नगद २५ हजारसहित सम्मान गरिएको हो ।

IMG_9373

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले धरानको साहित्य, कला, सँस्कृतिलाई उत्थान गर्नकै लागि प्रज्ञा प्रतिष्ठान गठन गरिएको उल्लेख गर्दै उपमहानगरपालिकाले भौतिक विकाससँगै बौद्धिक विकासमा पनि जोडदिएको बताइन् । उनले कला,साहित्य,सँस्कृतिको विकासको लागि धरानमा पुर्वाधार विकासमा पनि ध्यान दिएको बताइन् । ‘आफ्नो कला सृर्जना प्रस्तुत गर्ने ठाउँको पनि अभाव छ, हामीले ठाउँ पनि बनाउने योजना बनाएका छौं,’उनले भनिन्,‘भौतिक विकास गरेर मात्र हुदैन, धरानको विकासको लागि बौद्धिक वहस पनि गर्नुपर्छ भनेर योजना बनाएका छौं ।’

सम्मानित एवं भाषाविद् डा.टंक न्यौपानेले प्रज्ञा प्रतिष्ठानले अनुसन्धान गर्नतर्फ ध्यान दिनुपर्ने र संघसंस्थाहरुलाई कार्यक्रम गर्न सहयोग गर्नुपर्ने बताए । धरानमा कला, साहित्यको कार्यक्रमहरुमा दर्शकको संख्या कमी भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब स्कुल र कलेजहरुमा साहित्यिक जागरण अभियान चलाउन पनि सुझाव दिए ।

IMG_9403