धरान: प्रदेश नं १ को सरकारले ललितकलाको गुरुयोजना बनाउन सरोकारवाला तथा कलाकारहरुसँग सुझाव संकलन गर्न शुरु गरेको छ ।

प्रदेश सरकार, समाजिक विकास मन्त्रालयले शनिबार धरानमा सुझाव संकलन तथा अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । होटल सन्ध्या ईनमा आयोजित कार्यक्रममा नाट्य, संगीत, नृत्य, चित्रकला, मूर्तिकला र साहित्य विद्याका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहको थियो । कार्यक्रममा प्रदेशमा ललितकला सम्बन्धी कस्तो गुरुयोजना बनाउने भन्ने विषयमा समुहगत रुपमा छलफल गरी सुझावसमेत प्रस्तुत गरिएको थियो ।

गुरुयोजना निर्माण प्रकृयाले ललितकलाको क्षेत्रमा काम गरिरहेकाहरुलाई आफ्नो कामको कदर भएको र नयाँ जोश जाँगर आएको प्रमुख अतिथि डा. गोपाल भण्डारीले बताए । गुरुयोजना औपचारिकताको लागि मात्र नबनेर प्रभावकारी कार्यान्वय हुनेमा उनले विश्वास व्यक्त गरे । ललितकला सम्बन्धी उत्कृष्ट गुरुयोजना निर्माण गर्न यस किसिमको छलफल गरिएको ललितकला गुरुयोजना निर्माण सुझाव कार्यदलका सदस्य कलाकार तीर्थ निरौलाले बताए । भौतिक, समाजिक विकास निर्माणसँगै ललितकलाको विकास भएमा मात्र विकास पूर्ण हुने वताउदै सम्बन्धीत कलाकारहरुबाट सुझाव र विज्ञतालाई समेटर गुरु योजना निर्माण गरे पछि कार्यान्वयन पनि प्रभावकारी हुने कार्यदलका सयोजक माया पौडेल आशाबादीले व्यक्त गरिन् ।

lalitkalaa

धेरै लामो समयदेखि कलाकारहरुले आवाज उठाइरहेको बिषयमा प्रदेश सरकारले काम शुरु गरेको भन्दै कलाकारहरुले सकरात्मक प्रतिक्रिया दिएका थिए । कलाकारहरुलाई खोजेर उनीहरुको समस्या र भावना बुझेर गुरुयोजना बनाउने काम ऐतिहासिक भएको कलाकार बिक्रम श्रीले बताए । उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि कालाकारहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लाका कालाकारहरु, वरिष्ठ कलाकार राजु पिटाकोटी, समाजिक विकास मन्त्रालयका राजेन्द्र बुढाथोकी तथा कार्यदलका सदस्यहरु निवास पोखरेल, भरत गुरागाई, मधु पोखरेल, मुक्ति सर्मा, कृति श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।