धरान : प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य र कला क्षेत्रमा योगदान पुर्याएको भन्दै धरान निवासी भाषाविद् प्रा.डा.टंक न्यौपानेसहित विभिन्न विधाका १३ जनालाई नगदसहित सम्मान गरेको छ ।

असार २९ गते मन्त्रालयले विराटनगरमा एक कार्यक्रम आयोजना गरी १३ जना विभिन्न विधामा सम्मान गरेको हो । सम्मान पाउनेमा भाषाविद प्रा.डा.टंक न्यौपानेलाई प्रदेश सरकारले नगद १ लाख रुपैयासहित बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान प्रदान गरिएको थियो । यो पुरस्कार सरकारले यसैबर्षदेखि दिन थालिएको हो । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सम्मान दिइएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले न्यौपानेलाई दोसल्ला ओढाउनुका साथै १ लाख र सम्मान पत्र प्रदान गरेका थिए ।

samman 1

यस्तै, सम्मान पाउनेमा धरानका युवा रंगकर्मी विष्णु मोक्तान पनि छन् । उनलाई रंगर्ममा पुर्याएको योगदानको कदर गर्दै नगद ५० हजारसहित प्रदेश साहित्य कला सम्मान प्रदान गरिएको हो । यस्तै, सुनसरी इनरुवा निवासी साहित्यकार उपेन्द्र पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राममणी पोखरेल, इलामका विमल बैद्य, तेह्रथुमका रविमान लम्जेललाई पनि ५० हजार सहित सम्मान गरिएको थियो । यस्तै, मोरङका मधु पोखरेल, भैरव क्षेत्री, मैथिली भाषी साहित्यकार रामनारायण सुधाकर, संखुवासभाका मुर्तिकार जेबी थुलुङलाई पनि नगद ५० हजारसहित सम्मान गरिएको थियो ।