धरान: आरम्भ नाट्य डबली, धरानको पाँचौँ संस्करणको आधारभूत् नाट्य अभिनय कार्यशाला सम्पन्न भएको छ ।

मंगलबार धरान–१३, ओशो केन्द्रस्थित जैविक विविधता पार्कमा कार्यशाला सम्पन्न भएका हो । विभिन्न विद्यालय र स्वतन्त्ररुपबाट सहभागी १५ प्रशिक्षार्थीहरुलाई आरम्भको हलमा सैद्धान्तिक ५ दिन र प्रयोगात्मक १० दिन गरी १५ दिन कार्यशाला सञ्चालन भएको थियो । यो नाट्य अभिनय कार्यशाला विगतमा जस्तै निःशुल्क रहेको थियो ।

प्रमुख प्रशिक्षक तथा आरम्भ अध्यक्ष गोपाल देवानले धरानको रङ्गमञ्चमा विस्तारै उर्वर हुन थालेको बताए । अभिभावका बावजूद पनि आरम्भले नयाँ पुस्ता निर्माण गर्ने उद्देश्य अनुसार निःशुल्क नाट्य अभिनय कार्यशाला आयोजना गर्दै आएको बताए । उनले रङ्गमञ्चमा नयाँ पुस्ताको निर्माण र उनीहरुलाई अभिनयको दृष्टिले सशक्तिकरण गर्न सके मात्र धराने रङ्गमञ्च मौलाउन सक्ने धारणा व्यक्त गरे । आरम्भले रङ्गमञ्चलाई कमाउने माध्याम भन्दा पनि समाजमा चेतनाको प्रवाह र परिवर्तनको संवाहकको रुपमा विकास गर्ने सोचले नाट्य अभिनय कार्यशाला गर्दै आएको पनि अवगत गराए ।

IMG20190806162313

आरम्भका अनुसार पाँचौँ संस्करणसम्म आइपुग्दा करिब १ सय ५० जनाले अभिनय प्रशिक्षण लिइसकेका छन् । ती मध्ये २५ जनाको हाराहारीमा मात्र अभिनयलाई निरन्तरता दिइरहेको उनले बताए । रङ्ग चिन्तन सम्बन्धी गोष्ठी, नियमित मासिक नाटक प्रदर्शन र अभिनय कार्यशालामार्फत् धराने रङ्गमञ्चलाई ब्युँताउने प्रयासमा लागिरहेको आरम्भले जनाएको छ । कार्यशाला साउन ७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको थियो । अभिनय कार्यशालाका सहभागीहरुको सम्लग्नतामा लागूपदार्थ दुव्र्यसनविरुद्ध चेतनामूलक सडक नाटक ‘अँध्यारो सुरुङभित्र’पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

आरम्भको लोगो अङ्कित भेष्ट र ब्याचसमेत वितरण गरिएको सो कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिकाकुमार सम्बाहाम्फेको प्रमुख आतिथ्य, पत्रकार एवम् ओशो सन्यासी आनन्द श्रेष्ठ, ओशो स्वामी काली जैनलगायत अतिथिहरु रहेका थिए ।