धरान:  गायिका अनुका राईको ‘पलाएन हुन्छ रे’ नयाँ गीत यु–टयुबमा सार्वजनिक भएको छ ।

यो गीतको गीतकार वावुल गिरी रहेका छन् भने गीतमा कलाकार आँचल शर्माको अभिनय रहेको छ । शब्द, संगीत र ऐरेन्ज वाबुल गिरीकै हो । नृत्यमा निर्देशन र म्युजिक भिडियोमा निर्देशन क्रमसः तेन्जु योञ्जन र गोविन्द राईले गरेका छन् । गीतमा स्वर दिनुको साथै गीतको निर्माण अनुकाले आफैले गरेकी हुन् । सानैदेखि गीतमा रुची भएकी उनी धरान १५ बाँझगराकी हुन् ।

धरानक्षेत्रबाट आफ्नो गायन यात्रा शुरु गर्दा घरपरिवार र साथीसंगीहरुबाट गीतमा लाग्न हौसला मिलेको उनको भनाई छ । अनुकाले यसअधि थुप्रै गीतहरुमा आवाज दिइसकेकी छिन् । म्युजिक भिडियोहरु पनि बनाई सकेकी छिन् । ‘मैले चाहे तिमीलाई’, ‘मन पराई मायाले’, ‘तिम्रो न्यानो साथ’, ‘कसरी विर्सने‘, ‘देउकी भैलो, हल्ला नगर’, ‘म साथी बन्न सक्छुँ,’ ‘दुईचार छितिज’ आदी वोलको गीतहरु उनकै गीतहरु हुन् ।

अनुका खासमा सरकारी जागिरे हुन् । सानैदेखि गीत गाउने उनको रुचि थियो । त्यसैले जागिरसँगै गायनलाई पनि उनले अघि बढाइरहेकी छिन् । विद्यार्थी कालमा धरानमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएर गीत गाउथिन् । ‘४६–४७ सालताका म उत्सर्ग जनसांस्कृतिक मञ्चमा आवद्ध थिए, त्यहि संस्थामा क्रियाशीलरुपमा आवद्ध भएदेखि नै मेरो गायन सौखले समाज सामुन्ने अधि बढ्ने मौका पाएको हो,’उनले भनिन् । हालमा काठमाडौमा बस्दै आएकी अनुका विभिन्न सांगीतिक संस्थाहरुमा आवद्ध पनि छिन् ।